हिन्दुराष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपा नेपालद्वारा सुर्खेतमा प्रर्दशन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दुराष्ट्र पुर्नस्थापनाको माग गर्दै सुर्खेतमा प्रर्दशन गरेको छ । राप्रपा नेपालले हिन्दुराष्ट्र, संबैधानिक राजसंस्थाको पुर्नबहाली र स्थानीय स्वायत्त शासन स्थापना गर्नुपर्ने मागसहित आज सुर्खेतको वीरेन्द्रनगरमा प्रर्दशन गरेको हो ।

वीरेन्द्रचोक भएको कोणसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका कर्णाली प्रदेश इन्चार्ज ईश्वरकुमार श्रेष्ठले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेका भ्रष्ट शासकहरुले देशलाई आर्थिक संकटको दलदलमा पु¥याएर गरिवी, बेरोजगारी, मिटरव्याजी, सुन तस्करी जस्ता माफियातन्त्रलाई प्रश्रय दिईरहेको बताए ।

उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) लगायतका केही राजनीति पार्टीहरुले सिण्डीकेट लादेर कानूनलाई नै रबर स्टायम्प बनाउँदै देशमा अराजकता फैलिरहेको आरोप लगाए ।

‘आफुहरुलाई ठूला पार्टीहरु हुँ भन्नेहरुकै दादागिरीले देशमा मूल्यहिन राजनीतिले प्रश्रय पाईरहेको छ,’ उनले भने, ‘बहुमतको आडमा भैरहेको स्वेच्छाचारिताको बिरोध गर्न, सनातन हिन्दुराष्ट्र पुनस्र्थापना गर्न, धर्मनिरपेक्षता खारेज गर्न, धर्मपरिवर्तनलाई मौलिक हकमा राख्न आफुहरु निरन्तर लागि रहने छौं ।’

उनले गणतन्त्र पछि उदायका नयाँ दलहरु समेत विदेशीको पक्षपोषणाबाट सञ्चालित भईरहेकाले त्यसतर्फ सचेत रहन जनसमुदायलाई आग्रह गरे । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई संकटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिबर्तनमा जोड दिदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्दोलनलाई तीव्रता दिईरहेको उनको भनाइ थियो ।

 

Translate »