उपभोक्ता अधिकार दिवस वर्षभरी नै मनाउन कर्णालीका कृषि मन्त्री शर्माको अपिल

सुर्खेत । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले उपभोक्ता अधिकार दिवस वर्षभरी नै मनाउन आग्रह गरेका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम पछि कोणसभामा बोल्दै उनले वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर ‘झारा’ टार्ने परिपाटीबाट माथि उठेर ३ सय ६५ दिन नै उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्ने बेला आएको बताएका छन् ।

उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौं ऐन, नियम भएपनि आम उपभोक्ताले महसूस गर्न नपाईरहेको भन्दै मन्त्री शर्माले कानून कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको औल्याए ।

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार बासुकलाले कर्णाली प्रदेश सरकारले उपभोक्ता अधिकारको रक्षाका लागि प्रदेश स्तरीय बजार अनुगमन समिति गठनसहित थप कानून निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड नहोस् भन्ने उद्देश्यले बेलाबखत नियमकारीले बजार अनुगमन गदै आईरहेको बताए । उनले बजार अनुगमनसँगै उपभोक्ता अधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको औल्याए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले उपभोक्ताको मौलिक हक कार्यान्वयनमा तिनै तहका सरकारसँगै उत्पादक र उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिए । उनले उपभोक्ता अधिकारका क्षेत्रमा विगतको अवस्थामा भन्दा धेरै सुधार आएपनि अझै थुप्रै कामहरु गर्न आवश्यक रहेको बताए ।


कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले एकदिने कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रवद्धन हुन नसकेको जानकारी दिए ।

उनले नियमनकारी निकायबाट उपभोक्ता हित र अधिकारप्रति संवेदनशील हुन नसक्दा देखावटी नक्कल र झारा टार्ने प्रवृत्ति कायम रहेसम्म दिवसहरु केवल नारामै सीमित हुने बताए ।

दिवसको अवसरमा चार जनालाई सम्मान 

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता हक, हित र अधिकारका क्षेत्रमा योगदान पु¥याए वापत सुर्खेतका चार जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय सुर्खेत खरिदार सरस्वतीकुमारी रेग्मी र पत्रकार सुशीलकुमार खड्का रहेका छन् ।

उनीहरुलाई कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रमाणपत्र र खादासहित संयुक्तरुपमा सम्मानित गरेका हुन् ।

 

Translate »