बाँकेमा म्याद गुज्रेका सामान नष्ट

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीका पसलहरूमा म्याद गुज्रेका सामान भेटिएको छ । बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हो ।

चिसापानी क्षेत्रका १२ वटा पसलहरुमा अनुगमन गर्दा ४ वटा पसलमा म्याद गुज्रेको सामान पाइएको र ८ वटा पसलको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, भेरी कर्णाली किराना स्टोरमा ७ हजार २६० मूल्य बराबरको म्याद गुज्रिएका कोल्ड ड्रिंक्स, भुजिया, सम्राट एंड लक्की किराना पसलमा म्याद गुज्रेको दुई हजार मूल्य बराबरको सोन पापडी मिठाई भेटिएको थियो ।

यस्तै दीपक किराना पसलमा १ हजार ५ सय मूल्य बराबरको म्याद गुज्रेको कोल्ड ड्रिंक्स र विवेक किराना स्टोरमा म्याद गुज्रेको ४ सय मूल्य बराबरको जुस भेटिएको थियो।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा बजार अनुगमन गरिएको थियो । बजार अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ ।

Translate »