एक प्रतिशत नेपालीले मेरो आत्मकथा किनिदिनु भयो भने कृषि औजार कारखाना मज्जाले चल्छ : महावीर पुन

दाङ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नो आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन् ।
पुस्तक बिक्रीका लागि दाङ पुगेका पुनले आफ्नो सपना पूरा गर्न तीन लाख नेपालीले मात्र पुस्तक किनिदिए मात्र पनि पुग्ने बताएका हुन् । ‘नेपालको १ प्रतिशत नेपालीहरु (३ लाख) ले मेरो आत्मकथाको किताब किनिदिनु भयो भने वीरगञ्जको कृषि औजार कारखाना मज्जाले चल्छ,’ उनले भने ।

पुनले बन्द अवस्थामा रहेको वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ प्रकाशन गरेका छन् । यही आत्मकथा बेचेर जम्मा भएको रकमबाट कृषि औजार केन्द्र सञ्चालन गर्ने पुनको लक्ष्य रहेको छ ।
सोहीअनुसार गत वर्ष असोजमा पुस्तक प्रकाशन गरेका पुन बिक्रीका लागि आफैं गाउँ–गाउँ पुगेका छन् । किताब बिक्रीका लागि दुई महिनाअगाडि काठमाडौंबाट हिँडेका पुन सुदूपश्चिमका विभिन्न जिल्लासम्म पुगेर (४ हजार १ सय २५ किलोमिटर यात्रा पूरा गरेर) अहिले दाङ फर्किएका छन् । हालसम्म ५८ हजारप्रति पुस्तक बिक्री भइसकेको पुनले बताए ।