सुर्खेतमा फरार दुई जना प्रतिवादी पक्राउ


 सुर्खेत । सुर्खेत प्रहरीले छुट्टाछुट्टै घटनामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आज वीरेन्द्रनगरबाट ठगी तथा सरकारी सार्वजनिक किर्ते मुद्धामा फरार रहेका वीरेन्द्रनगर नगरपालिका–६, निवासी कबिर खानलाई पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतले खानलाई ठगि मुद्धामा १ वर्ष कैदसहित १० हजार जरिवाना र सरकारी सार्वजनकि किर्ते मुद्धामा समेत १ वर्ष कैदसँगै १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतले फैसला सुनाएको दिनदेखि नै फरार रहेका खानलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) लक्ष्मणबहादुर शाहीले बताए ।

उनले आजै चेक अनादर मुद्धामा फरार रहेकी वीरेन्द्रनगर–६, निवासी कृष्णा शाहीलाई समेत सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सुर्खेत जिल्ला अदालतले चेक अनादर मुद्धामा शाहीलाई २ वर्ष कैद फैसला सुनाएको थियो ।

फरार प्रतिवादी दुबै जनालाई कैद जरिवाना भुक्तानका लागि आजै जेल चलान गरिएको डीएसपी शाहीले बताए ।

Translate »