बागलुङको निसीखोलामा बस दुर्घटना थप अपडेट : आठको मृत्यु, २४ घाइते

बुर्तिबाङ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमको मुसिकोटबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिए ।

मृतकमध्ये चार पुरुष र चार महिला छन् । दुर्घटनामा २४ जना घाइते छन् । तीन महिनाकी एक बालिका भने सकुशल रहेको खनालले बताए । दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएकाले चालकको समेत मृत्यु भएको उनले जनाए ।


बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए । मृतक र घाइतेहरुको परिचय भने खुल्न बाँकी छ । बसमा १३ महिला र १९ पुरुषमा सवार थिए ।

स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलालाई थप उपचारका लागि बागलुङतर्फ ल्याइँदैछ । सोमबार साँझ सवा ४ बजे निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउलेपानीमा पर्ने मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । बस सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि सवा ६ बजे घटनास्थल पुगेको प्रहरीले घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाएको थियो । घटनास्थल ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट करिब ३० किलोमिटरमा पर्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित पूर्वी रुकुमबाट नेपाली सेनाको टोलीले घाइतेको उद्दार गरेको थियो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले घटनास्थलबाट बागलुङ सदरमुकाम निकै टाढा पर्ने र सबैजसो यात्रु र मृतकसमेत रुकुम पश्चिमकै भएकाले मृतकहरुको शव रुकुम पश्चिम नै पठाइएको जानकारी दिए ।

Translate »