सुर्खेतमा लागु औषध विरुद्धको ‘लालटिन अभियान’ टोलवस्ती हुँदै कलेज पुग्यो

वीरेन्द्रनगर । सुर्खेतमा जारी लागु औषध विरुद्धको अभियान कलेज पुगेको छ । सुर्खेत प्रहरीले गाउँवस्तीहुँदै शहरका गल्ली, टोलहुँदै लागु औषध विरुद्धको लालटिन अभियान कलेज पु¥याएको हो । मंगलबार सुर्खेत प्रहरीले लागु औषध विरुद्धको लालटिन अभियान वीरेन्द्रनगर–१३ स्थित अमरज्योति माध्यमिक विद्यालय अन्तर्गतको प्राविधिक कलेजमा पु¥याएको छ ।
कलेजका कार्यक्रम संयोजक अमरबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कर्णालीमा लागुऔषध विरुद्ध लालटिन अभियान २०८० अन्तर्गत ‘कलेज लालटिन समूह’ गठन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक विनोद कार्कीले जानकारी दिए ।

उनले प्राविधिक कलेजका शिक्षक, डिप्लोमा ईन सिभिल ईन्जिनियर र अमिन सर्वेक्षकका विद्यार्थीलाई १६ देखि ३६ वर्ष उमेर समूहमा बढी लागू औषध सेवन गर्ने गरेको पाईएकाले युवाहरुलाई दुव्र्यसनीबाट जोगाउन लालटिन अभियान प्रभावकारी बन्दै गएको बताए । ‘कलेज लालटिन समुह’ गठन गरी लागुऔषध र यसले पार्ने प्रभाव सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिईएको उनको भनाइ छ । ‘कलेज लालटिन समूह’ गठन कार्यक्रमको सहजीकरण जिप्रका प्रहरी सहायक हवल्दार सर्जन श्रीसले गरेका हुन् ।
कर्णालीमा पछिल्लो समय लागूपदार्थ दुर्व्यसनी र ओसारपसारका घटनाहरु बढ्दै गएपछि प्रहरीले लालटिन अभियान थालेको हो । लालटिन अभियानमा लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनविरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने, लागु औषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्ग लक्षित नियन्त्रणका उपायहरु अपनाउने, विभिन्न लक्षित वर्गहरुको लागि निरन्तर रुपमा प्रभावकारी तवरले लागु औषध विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमहरु गर्ने र आम नागरिकलाई सचेत बनाई सक्रिय रुपमा सहभागी गराउँदै लागु औषध दुर्व्यसन र अपराधलाई निरुत्साहित पारी समाज र नागरिकहरुमा सुरक्षा अनुभूति बढाउने अभियानको मुख्य लक्ष्य रहेको छ ।