बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी

सुर्खेत । जिल्लामा बालविवाह बढ्न थालेपछि प्रहरीले बालविवाह विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । प्रहरी चौकी मालारानीका प्रहरी सहायक हवल्दार आमेप्रकाश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विहीबार गुर्भाकोट नगरपालिका–१, राम्रीकाँडा टोलमा ‘बालविवाह विरुद्धको सचेतना अभियान’ सञ्चालन गरेको हो ।
राम्रीकाँडाका वरिष्ठ समाजसेवी सुरेश ओलीको अध्यक्षतामा आयोजित ‘बालविवाह न्यूनिकरण’ सम्बन्धि सचेतनामुलक कार्यक्रममा २० वर्षभन्दा कम उमेरमा हुने विवाहले गरिबी, बालिका बेचबिखन तथा ओसारपसारका घटना हुने गरेकाले सचेत हुन स्थानीय नागरिकसँग प्रहरीले आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनले सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुनु र महिला हिंसाका घटना बर्सेनि थपिनुलाई पनि बालविवाहको नकारात्मक परिणामको रुपमा लिइएको बताए । उनका अनुसार कानूनले रोक्दा रोक्दै पनि बालविवाह भइरहनुका धेरै कारणहरु मध्ये गरिवी, अशिक्षा र सचेतनाको कमी मुख्य हुन् ।
यता अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी बरिष्ठ हवल्दार कुमार केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका–९, जहरेमा वडा सदस्य सरिता विकको अध्यक्षतामा बालविवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जहरेमा भएको कार्यक्रममा बालविवाह विरुद्ध अभियानलाई व्यापक बनाउन स्थानीय समाजसेवीसँगै व्यापारी तथा जनप्रतिनिधिहरुले प्रतिवद्धता जाहिर गरेका थिए ।
बालविवाहले निम्त्याउने समस्याका बारेमा बालबालिका र अभिभावकलाई जानकारी दिने उद्देश्यले यतिबेला सुर्खेतका ग्रामीण वस्तीहरुमा प्रहरीले सचेतनामुलक कार्यक्रमलाई व्यापाक बनाईरहेको छ । बालविवाह बाल अधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्र नभएर विकास र समृद्धिकै बाधक भएकाले त्यसको उन्मूलनका लागि सरकारसँगै नागरिकपनि सचेत र जागरुक हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।