होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आपसी सद्भावको पर्व होली (फागुपूर्णिमा) संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई अपिल गरेका छन् । उनले ईच्छा विपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरीले कानुनीरुपमा प्रस्तुत हुने हुँदा सबैले पर्वलाई मर्यादित र संयमित रुपमा मनाउन आग्रह गरेका हुन् ।

प्रशासन कार्यालयले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा हस्ताक्षारित एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबिर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको हो । प्रशासनले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कार्वाही गर्न मातहतलाई कडा निर्देशन जारी गरेको छ ।


सूचनामा आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार हनन् हुने गरी इच्छा विपरीत रङ्ग दल्ने, उच्छृङ्खल गतिविधि गर्ने, र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कार्वाही हुने बताईएको छ ।

होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनैपनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न आह्वान गर्दै कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।

Translate »