झारल काट्दै गरेको अवस्थामा एक पक्राउ

त्रिपुरासुन्दरी । प्रहरीले डोल्पाको त्रिपुरासुन्दरीमा संरक्षित वन्यजन्तु झारल काट्दै गरेको अवस्थामा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–९, का ३६ वर्षिया लक्ष्मीनारायण पुन रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
झारल मारेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरी नायव निरीक्षक रमेशसिँह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीले खुकुरी सहित पुनलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पुनलाइ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी नायव निरीक्षक रमेश सिँह ठकुरीले जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार बुढाथोकीले घटनास्थलबाट बरामद् भएको हतियारसहित सबै प्रमाणहरु जिल्ला वन कार्यालय डोल्पालाइ बुझाइएको बताए ।
उता डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन रावतले संरक्षित वन्यजन्तु भाग लगाउँदै गरेको घटनामा पक्राउ परेका अभियुक्तलाइ प्रहरीले ल्याउँदै गरेरकाले अनुसन्धानपछि मात्र थप जानकारी हुने जनाए ।