पक्की पुलले घाटगाउँ–गुटुको दुरी छोटियो

सुर्खेत । पश्चिम सुर्खेतको घाटगाउँ–गुटु सडकखण्डको झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो । झ्यानझ्याने खोलामा पक्की पुल निर्माण भएपछि घाटगाउँ–गुटुको दुरी समेत छोटिएको छ ।
अन्तरप्रदेशीय सडकका लागि महत्वपूर्ण मानिएको घाटगाउँ–गुटु खडकखण्डको झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि चार किलोमिटर दुरी छोटिएको हो । पुल बनेपछि अहिले त्यसक्षेत्रका सर्वसाधारणलाई चौकुने गाउँपालिका केन्द्र ‘गुटु’ पुग्न सहज भएको छ । यसअघि घाटगाउँदेखि चौकुने गाउँपालिकाको केन्द्र पुग्न झ्यानझ्याने खोलाको गहिरो खोंच पार गर्नका लागि चार किलोमिटर समय खर्चिनु पर्ने बाध्यता थियो ।
झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि दुरी छोटो मात्र होइन, कुईने, तातापानी, घाटगाउँदेखि अब सिधै चौकुने गाउँपालिका केन्द्र ‘गुटु’ पुग्न सहज भएको छ । करिब ९ करोड लागतमा निर्माण भएको पक्की पुलको लम्बाई ६१.५० मिटर रहेको छ । निर्माण ठेकेदार कम्पनी अनक कन्सटेक्सनले तोकिएको समय भन्दा १७ महिना पहिले नै पुल निर्माण गरी कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयलाई हस्तान्तरण गरेको हो ।
तोकिएको समयभन्दा पहिले नै पुल निर्माण गरेवापत कुल लागतको १० प्रतिशत अतिरिक्त रकम निर्माण कम्पनीलाई उपलब्ध गराईएको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले बताए । उनले अनक कन्सटेक्सनले २०७८ कार्तिकमा सम्झौता गरि २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने कार्यदेश पाएको भएपनि २०७९ माघ मसान्तमै पुल निर्माण गरी निर्देशनालयलाई हस्तान्तरण गरेको जानकारी दिए ।

सवारी साधनसँगै पैदाल यात्रुका लागि झ्यानझ्याने खोलाको सिरानदेखि घुम्दै जानु पर्ने बाध्यता अन्त्य भएसँगै विकासका नयाँ सम्भावनाको ढोका खुलेको गुटुका समाजसेवी काशीराम जैसी देवकोटाले बताए । उनले सडक स्तरोन्नतीको क्रममा रहेको कैलालीको चिसापानी–सुर्खेतको घाटगाउँ–गुटुहुँदै अछामको मंगलसेन जोड्ने फास्ट ट्¥याकलाई तीव्रता दिन सरकारसँग आग्रह गरे ।
उनका अनुसार घाटगाउँको चिप्ले र झ्यानझ्याने खोलामा पक्कीपुल निर्माणभएसँगै अब साल्मदेखि जंगलाघाटसम्मको ट्¥याक खुलेपछि सुर्खेत अछामसँग सजिलै सडक सञ्जालसँग जोडिनेछ । जंगलाघाटदेखि उता अछाम खण्डमा दश वर्ष पहिलेदेखि नै सवारी साधन गुडिरहेका छन् ।
यता घाटगाउँ–गुटु–साल्म सडकको १३ किलोमिटर खण्डको ठेक्काभई कालोपत्रे गर्ने कार्य अघि बढिसकेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरिशर्मा धितालले जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै कालेपत्रे कार्य शुरु गर्नका लागि निर्देशनालयबाट निर्माण कम्पनीलाई कार्यदेश जारी भईसकेको बताए ।