कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव चार दिनपछि भेटियो

कैलाली । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकार दिए ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको छ । शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए ।शाहीको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो । खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गरिएको थियो ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हरिराज डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरुलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए ।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताए । उनका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन् ।

‘फोटो खिच्न पुलतर्फ गएका हौं, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौं,’ पक्राउ परेकाहरुले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताए । कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए ।

Translate »