कर्णालीमा मुख्यमन्त्री एमालेलाई

सुर्खेत । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसार कर्णालीमा नेकपा (एमाले) ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो ।
सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए । उनले भने, ‘केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । उनले केन्द्रीय सत्तागठबन्धनको भद्र सहमति अनुसार नै कर्णालीमा एमालेका उम्मेदवारलाई समर्थन गर्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिलाई निर्देशन दिएका हुन् ।
मंगलबार बिहान नेकपा माओवादी (केन्द्र) कर्णाली समितिले औपचारिक निर्णय गरि सक्ने अपेक्षा राखिएको छ । अब कर्णालीमा एमालेका वरिष्ठ नेता यामलाल कँडेल मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । एमाले सम्बद्ध नेताहरुले भने केन्द्रीय गठबन्धन सहमतिअनुसार नै कर्णाली प्रदेशमा सरकार बन्ने प्रक्रिया अघि बढ्ने विश्वास लिएका छन् ।
एमालेलाई कर्णालीमा सरकार बनाउन नेकपा माओवादी केन्द्रको साथ पाए पर्याप्त बहुमत पुग्नेछ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग सभामुखसहित १० र माओवादीसँग १३ जना सांसद रहेका छन ।