कर्णालीमा एमालेका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच तीन दिनदेखि लगातार चलेको मैराथन वार्तापछि अन्नतः कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन सहमत भएपछि कँडेल अबको मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

एमाले र माओवीच लामो छलफलपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएको नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन् ।

मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी भईरहेको उनको भनाइ छ । केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरुले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेपछि केही समयका लागि अन्यौलता कायम भएको थियो ।

अध्यक्ष केसीका अनुसार कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने दुई दल वीच सहमति भएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन तयार भएका हुन् ।

 

Translate »