कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
केन्द्रमा भएको सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न मानेका थिएनन् । लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधबार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा सत्तागठबन्धन दलहरुबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मत लिने कार्यक्रमलाई स्थगित राखेर राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका हुन् ।
प्रदेशसभा सम्बोधनका क्रममा आफ्नो कार्यकालको चर्चा समेत गरेका थिए । सम्बोधनका क्रममा उनले केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत व्यक्त गरे । शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

