मुस्लिम धर्मावलम्बी रोजा मनाउँदै


बाँके । मुस्लिम धर्मावलम्बीको एक महिने रोजा पर्वले नेपालगन्ज नगर र मस्जिदहरूमा रौनकता बढाएको छ । नेपालगन्ज ४ मा रहेको फैजान–ए–रमजान मस्जिदमा भेला भएर मुस्लिम धर्मावलम्बीहरूले तराबी नमाज पढ्दै रमजान मनाइरहेका छन् ।
रमजानको महिनामा मस्जिदहरूमा हुने तराबी अर्थात् कुरानको पाठ २४ रोजा पुगेको अवसरमा बिहीबार राती फैजान–ए–रमजान मस्जिदमा भव्य रुपमा सम्पन्न भएको छ ।

कुरान पढेर सुनाएको भन्दै मुस्लिमहरूले उक्त मस्जिदका धर्मगुरु गुलाम रब्बानीलाई १ लाख १२ हजार नगद राशिले सम्मान गरेका छन् । कुरान वाचनको समापनसँगै मुस्लिमहरूले देशमा अमनचैन र दीर्घकालीन शान्ति स्थापना होस् भनी अल्लाहसँग प्रार्थनासमेत गरेका छन् ।
मुस्लिम समुदायका लागि रमजानको महिना मलिन आत्माले पवित्रता प्राप्त गर्ने महिना हो । यो पवित्रता प्राप्त गर्ने विभिन्न तरिकामध्ये तराबी पनि एक हो । तराबी अरबी शब्द “तरवीहा” को बहुवचन हो जसको अर्थ हुन्छ आराम गर्नु । यसलाई यो नाम दिनुको कारण हरेक चार रकातपछि नमाजीहरुले केहीछिनको लागि आराम गर्ने चलन छ ।
तराबी “तहज्जुद” नमाजकै अर्को रुप हो जसमा मानिसहरू राति उठेर अल्लाहलाई सम्झन्छन् । तराबी नमाजमा मुस्लिमहरू एक इमामको पछाडि उभिएर कुरानको वाचन सुन्छन् र अल्लाहले पठाएको सन्देशलाई मनन् गर्छन् । कुरानको वाचन सकिए पनि तराबीको नमाज रमजान महिनाभरि हुने दावते इस्लामी नेपालका प्रमुख धर्म गुरु फजल हकले जानकारी दिए ।
रमजान महिनाको अन्तिम शुक्रबार आज मुस्लिमहरू सामूहिक रुपमा मस्जिदहरूमा जम्मा भएर अल्बिदाको नमाज पढ्ने धर्म गुरु फजल हकले बताए ।

