गण्डकीमा खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी पेस, मनाङेको पनि समर्थन
कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न अधिकारी माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङेसहित पुगेका थिए । मनाङे यही चैत ५ गते कांग्रेस सरकारमा मन्त्रीसमेत बनेका थिए । एकीकृत समाजवादी पार्टी त्याग्दै उनी सरकारमा सहभागी भएका थिए । अधिकारीको दाबीमा नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत गणना गरिएको छ ।
राप्रपाको समर्थनबिना गण्डकीमा अधिकारीले बहुमत जुटाउन सक्ने अवस्था छैन । एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए । उनले विश्वासको मत लिने समयसम्म राप्रपाको पनि साथ रहने बताएका छन् ।
त्यस्तै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले निर्वाचन आयोगमा भएको दलीय संख्याअनुसार सरकारमा दाबी पेस गरिएको बताए । ‘कोशी प्रदेशको नजिर दोहोरिएन ? भन्ने प्रश्नमा चुमानले भने, ‘हामीले अहिले हस्ताक्षर बुझाएका होइनौं । निर्वाचन आयोगमा भएको दलीय संख्याअनुसार सरकारमा दाबी मात्र गरेका हौं ।’
सदनमा बहुमत पुष्टि गर्नु र मुख्यमन्त्रीमा दाबी पेस गर्नु फरक रहेको पनि उनको भनाइ छ । यसअघि कोशी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा सरकार बनाउँदा त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरेको थियो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । गण्डकी प्रदेशमा एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल छ । राप्रपाका २ सांसद छन् । ई–कान्तिपुर