कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन
सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय सीमा आज (मंगलबार) सकिँदै छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले २१ चैतमा आज साँझ ५ः५० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा दिएका थिए ।
केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कर्णालीमा पनि सरकार परिवर्तन भएको हो । सुरुमा राजीनामा नदिने अडानमा रहेका शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दबाबपछि हटेका थिए । प्रदेश सरकार गठनको विषयमा नेकपा माओवादी कर्णालीले एमालेलाई जसरीपनि चेपुवामा पार्ने रणनीति अंगिकार छ । माओवादीले सुगा रटाई रणनीति बनाएपछि एमालेसँग कुरा मिल्न नसक्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको हो ।
सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा सरकार गठनमा ढिलाई भनिएपनि मुख्यतः कर्णालीमा माओवादी सत्ताको चासनी छोड्न नखोजेको सर्वसाधारणले आकलन गर्न थालेका छन् । किनभने सत्ता गठबन्धनसँग स्पष्ट बहुमत हुँदा समेत माओवादीले एमालेलाई सहजै सत्ताको चाँबी बुझाउन चाहेको छैन् । माओवादीले सभामुखको कार्यकाल बाँडफँड र चार मन्त्रालय रोजेर लिन पाउनुपर्ने अडानमा एमाले सहमत नहुदाँ सरकार गठनमा सकस भएको कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बताए ।
यता एमाले भने पहिला सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पुर्याउने पक्षमा रहेको छ । सरकार गठनको विषयमा निरन्तर एमाले र माओवादीका नेताहरु छलफल गर्दै आएपनि सहमति जुट्न सकेको कर्णाली प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक टेकराज पर्छाईले जनाए ।
कर्णालीमा मुख्यमन्त्री सहित ८ मन्त्रालय छन् । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका मन्त्रालयमा दुबै दलको दावी हुदाँ सरकार गठनमा ढिलाई भएको हो ।