राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते आज उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ ।

संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।

राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य छन् ।

Translate »