दूरसञ्चार कर्मचारी संगठनको ३४ औं वार्षिकोत्सव : कर्णालीका वस्ती–वस्तीमा सञ्चार सेवा पुर्याउन माग
सुर्खेत । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले आफ्नो स्थापनाको ३४ औँ वार्षिकोत्सव कर्णालीमा विविध कार्यक्रम गरी मनाएको छ । संगठनले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशका सचिव ध्रुवकुमार शाहीले नेपाल टेलिकम देशको गौरव गर्न सकिने संस्था भएको भन्दै सर्वसाधारण जनतालाई सस्तो, भरपर्दो र उत्तरदायी सेवा दिन सफल भएकोमा प्रशंसा गरे ।
पछिल्लो समय अराजनीतिक प्रवृत्तिहरुले टेलिकमको सूचकांक कमजोर हुँदै गईरहेकाले प्रति चिन्ता जाहिर गर्दै उनले कम्पनीको व्यवस्थापन पक्ष र ट्रेड युनियन मिलेर रोक्नुपर्ने सुझाव दिए । ‘राष्ट्रकै ठूलो करदाता नेपाल टेलिकम नै धरासायी भएपछि यसको प्रतिकुल असर राष्ट्रिय अर्थतन्त्रमा पर्छ,’ उनले भने, ‘त्यसका लागि देशका ७७ जिल्लाकै कर्मचारी टे«ड यूनियन र टेलिकम व्यवस्थापन पक्ष सममै सचेत भई सञ्चार सेवा उपलब्ध गराउँदै आएका नीति निर्माणकर्तालाई सजक गराउनु पर्छ ।’
कार्यक्रममा नेपाल टेलिकमका कर्णाली प्रादेशिक निर्देशक उमेशप्रसाद साहले कम्पनीका योजना र भएका कार्य प्रगतिबारेमा जानकारी गराएका थिए । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष आन्नद पौडेलले कर्मचारी हक, हित र अधिकारसँगै कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन कर्मचारी र व्यवस्थापन थप जुट्नु पर्ने बेला आएको बताए ।
उनले कर्णाली प्रदेश जस्तो भूगोलका हिसावमा ठूलो भएपनि सरकारी कम्पनी भएकाले फाईदा भन्दा पनि सेवालाई सर्वोपरी ठानेर थप सेवा सुविधा विस्तार गर्न आवश्यक रहेको औल्याए ।
कार्यक्रममा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य रमेश पाठक, नेपाल टेलिकम वकर्स युनियन कर्णाली प्रदेशका अध्यक्ष अजितबहादुर कार्की, नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल टेलिकम) कर्णाली प्रदेश अध्यक्ष कृष्णाकुमारी थानीले नेपाल टेलिकमलाई समय सापेक्ष प्रतिस्पर्धी र दिगो बनाउन कर्मचारीसँगै टेलिकम व्यवस्थापनको नीति निर्माण पक्ष थप जिम्मेवार बन्न आवश्यक रहेको बताए ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका कर्णाली प्रदेश अध्यक्ष प्रेमकुमार गिरीले ‘व्यवसायी कम्पनी उत्तरदायी व्यवस्थापन उत्प्रेरित कर्मचारी, सुदृढ टे«ड यूनियन’ भन्ने नारा सफल बनाउन सबै तह र तप्काको सहयोग तथा साथ अपरिहार्य रहेको बताए । ‘बढ्दो प्रतिस्पर्धाले नेपाल टेलिकम नै धरासाही हुने हो भन्ने चिन्ताले कर्मचारी नेताहरु त्रसित भएका छन्,’ उनले भने, ‘नेपाल टेलिकमलाई जीवन्त बनाई राख्न कर्मचारी र नीति निर्माण गर्नेहरु समयमै सहज र सचेत हुनेपर्छ ।’
उनले कर्णाली विकट भएपनि पर्याप्त सम्भावना रहेकाले सञ्चारको विकासका लागि पर्याप्त मात्रमा फाईवर, फोरजी वीटीएस स्थापना गरी सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता रहेको औल्याए । पश्चिम सुर्खेतलगायत दैलेखको राकमलगायतका क्षेत्रमा फाईवर नेटवर्क जडान गरी एफटीटीएच लाईन वितरण गर्नुपर्ने र निर्माण सम्पन भई सञ्चालनमा नआएका टावरहरु तत्काल सञ्चालन ल्याउनुपर्ने उनले सुझाव दिए ।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा रक्तदान कार्यक्रममा सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने एसइईमा सबैभन्दा बढी अंक ल्याउने कर्मचारीका सन्तति मध्ये छात्र/छात्रा एक÷एकजनालाई पुरस्कृत गरिएको थियो ।