सुर्खेतमा ‘ईद’ को चहलपहल शुरु

सुर्खेत । हिजरी संवतको रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै सुर्खेतका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’ को चहलपहल शुरु भएको छ ।

रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद) को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवतको पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको वीरेन्द्रनगरका शकील मियाले बताए ।

हिजरी संवतको पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु) ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउने बाटो खुल्ने उनले जनाए ।

Translate »