कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री कँडेलले आफुले जनअपेक्षा अनुसारको काम गर्ने बताएका छन् । निकट दुई महिनाका वीचमा नीति तथा कार्यक्रम बजेट प्रस्तुत गर्नुपर्ने भएकाले आवश्यकतामा आधारित जनअपेक्षा अनुसारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
उनले गठबन्धनमा रहेका सबै दलहरुको सल्लाह, सुझावसँगै स्थायी सरकारका रुपमा रहेका कर्मचारी विज्ञहरुले तय गरेको रणनीति अनुरुप जनताले प्रत्यक्ष देखिने गरी काम गरिने बताए । निकट समयमै आउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारले कस्तो योजना अघि सारेको छ भन्ने कुरा स्पष्ट हुने उनको भनाइ थियो ।

मन्त्रीमण्डल आज बिस्तार नहुनुलाई उनले सत्ता साझेदार दल वीच थप गृह कार्य भईरहेकाले केही दिनमै सरकारले पूर्णता पाउने जिकिर गरे ।
‘भूमिका निर्वाह गर्ने जिम्मेवार ठाउँमा पुगेकाले पहिला बुझ्ने काम गर्ने र त्यसपछि आफु कार्यन्वयनमा जानेछु,’ उनले भने, ‘नबुझेर कुनै काम गर्दिन् । बुझ्नेका नाममा म बिलम्ब गर्दिन् । त्यो विषयमा सरोकार राख्ने राजनीतिक दलसँग, कर्मचारीसँग प्रदेशसभामा रहेका सबै दलसँगै सरोकारवालासँग बिलम्ब नगरेर छलफल गरेर जे जनताले अपेक्षा गरेका छन्, त्यस कामलाई हरसम्भव मूर्तरुप दिनेछु ।’
पदभार ग्रहण गर्नुअघि मुख्यमन्त्री कँडेलले सपथ लगत्तै वीरेन्द्रनगरको शहिद पार्क पुगेर शहीदलाई माल्यापर्ण गरेका थिए । यद्यपि ! उनले जेसुकै भनेपनि सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा आज एक्लै शपथ लिनु परेको थियो ।