
सिमकोट । नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले देश एमालेले अघि सारेको बाटोमा हिडिरहेको बताएका छन् ।विहीबार एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै बोगटीले देशको सत्ता गठबन्धन मात्र फेकिएको होइन, देशको समृद्दीको रेखा कोर्ने वामपन्थी शक्तिहरु वीच एकताको बाटो समेत एमाले खोलिदिएको बताएका हुन् ।
‘‘देशको विकासको भरपर्दो नीति र योजना भएको पार्टी एमाले मात्रै हो,’ उनले भने, ‘भएभरका प्रतिगामी शक्तिहरु एकजुट हुँदापनि एमाले एक्लैले २०७९ मंसिर ४ को निर्वाचन परिणामबाट समेत आफुलाई बलियो शक्तिका रुपमा स्थापित गरेको छ ।’


एमाले हुम्ला जिल्ला ईन्चार्ज नागेन्द्र शाहीले आमा र वुवाको प्यारो पार्टी ‘एमाले’ छोराछोरीहरुका लागि पनि पितातुल्य रहेको बताए । ‘हुम्लाबाट पटक–पटक निर्वाचित भएका सांसदहरुको जीवनशैली परिवर्तन भएपनि हुम्लीहरुको अवस्था जहॅाको तहिं छ,’ उनले भने, ‘हुम्लाको समृद्दी र सर्वोपरी विकासको नेतृत्व एमाले वाहेक अन्य पार्टीले गर्न सक्दैनन् ।’
उनले हुम्लामा साना–साना कम्युनिस्टका ब्राण्डको पसल थापेर साम्यवाद नआउने भएकाले मुलधारको कक्युनिष्ट एमालेमा समाहित हुन आग्रह गरे । उद्घाटन शत्रलाई संवोधन गर्दैं कर्णाली प्रदेश कमिटी सदस्य नवराज महताराले जिल्लाका सातवटै स्थानीय तहमा प्रतिपक्ष भएकै कारण विकासमा वेथेति बढ्दै गईरहेकाले मिशन ८४ लाई सफल बनाउनु बनाउन आज देखि जुट्नुपर्नेमा जोड दिए ।
उद्घाटन शत्रमा प्रदेश कमिटी सदस्य रुपा शाही, मंगल लामा, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मन्जु रावललगायतका नेताहरुले सम्बोधन गरेका थिए । अहिले नयॅा नेतृत्व छनोटका लागि जिल्लाका ४४ वटै वडाबाट २८९ अधिवेशन प्रतिनिधि सदरमुकाम सिमकोटमा जम्मा भएका छन् ।












