शिक्षामा लगानी बढाउन चिङ्गाडबासीको माग

सुर्खेत । चिङ्गाड गाउँपालिकाको समृद्धिका लागि शिक्षा क्षेत्रमा लगानी बढाउन सरोकारवालाले माग राखेका छन् । गाउँपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी सरोकारवालाहरुले शिक्षा क्षेत्रको सुधार गरे मात्रै चिङ्गाडवासीको समृद्धि आउने भन्दै त्यसमा ध्यान दिन सुझाव दिएका हुन् ।

वडा नं. २ मा कार्यरत शिक्षक चक्रबहादुर खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिन नसक्दा गाउँपालिकाले विभिन्न समस्याहरुको साम्ना गर्नु परेको बताए । उनले गाउँपालिकाबाट समयमै शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने, वडा नं. २ को रहकुल आधारभूत विद्यालयमा भएको विवाद समाधान गर्नुपर्ने साथै कक्षा आठको परीक्षालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रम शिक्षक उदयबहादुर खत्रीले गत वर्ष गाउँपालिकाले कक्षा आठको परीक्षालाई प्राथमिकता दिएर वास्तविक मूल्यांकन गरेपनि त्यसपछि आएको नतिजालाई विश्लेषण गरी योजना बनाउन ध्यान दिन नसक्दा शिक्षा गुणस्तर कायम राख्न चुनौति थपिएको बताए । उनले गाउँपालिकाबाट विद्यालय अनुगमनको काम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष जिसीले पढ्दै कमाउँदै लगायत शिक्षाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि सोचेअनुरुप अझै प्रभावकारी हुन नसकेको स्वीकार गरे । उनले शैक्षिक क्षेत्रको विकासका लागि सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सहयोगका लागि आग्रह गरे ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुलसी केसीले आगामी शैक्षिक सत्रको क्यालेण्डर बैशाखभित्रै सबै विद्यालयसम्म पु¥याउने, विद्यालय अनुगमनलाई प्राथमिकता दिने तथा शिक्षा क्षेत्रमा देखिएका कतिपय विवादहरु समाधान गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाईन् ।

यस्तै कार्यक्रममा सहभागीहरुले द्वन्द्वपीडित नागरिकहरुका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोल विकास संस्थाहरुलाई सक्रिय बनाउनुपर्ने, विकास निर्माणमा पक्षपात नगरी बढी आवश्यकतालाई प्राथमिकता दिनुपर्ने, कृषि शाखाबाट सञ्चालन हुने अनुदानका कार्यक्रम पारदर्शी हुनुपर्ने, गाउँपालिकाले प्रभावकारी रुपमा सूचना सम्प्रेषण गर्नुपर्ने, अनुगमन सुपरीवेक्षण, प्राविधिक सेवा प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

सहभागीले उठाएका प्रश्नको जवाफमा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रोकायले सरोकारवालाहरुले उठाएका कतिपय सान्र्दभिक सवालहरुलाई आगमी दिनमा आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाईन् । कार्यालय प्रमुख समिक्षा सोमैले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई छिटोछरितो, सरल र प्रभावकारी बनाउनका लागि ऐन नियमभित्र रहेर प्रयत्न गरिरहेको बताईन् ।

उनले विकास निर्माणमा गुणस्तरीयता एवं सुशासन कायम गर्न सेवाग्राहीले दिएका सु्झावहरुलाई ग्रहणगरी आगामी दिनमा सेवा प्रवाहलाई थप सुधार गर्ने पनि प्रतिबद्धता जनाईन् ।

Translate »