

सुर्खेत । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको उपचारका क्रममा मृत्यु भयो । देवीदत्त गुल्मका सिपाही ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगर र २३ वर्षीय सिपाही आशिष बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको हो भने २४ वर्षीय हेमन्त रावतको डोल्पा अस्पतालमा उपचारकै क्रममा सोमबार मृत्यु भएको थियो । डढेलो निभाउने क्रममा घाइते अर्का एक सैनिक जवानको कीर्तिपुरमा उपचार भइरहेको छ ।
बुधबार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा डढेलोमा परेर ६ जना घाइते छन् । रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधवराज खरेलका अनुसार रन्मा गाउँदेखि पारिको चत्रा भीरमा बाटो निर्माणमा जुटेका स्थानीय डढेलोमा परेका थिए । गोरेटो खन्ने क्रममा भीरबाट खसेका ढुंगा ठोक्किँदा आगलागी भएको स्थानीयको भनाइ छ ।
बिहीबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा घरनजिकैको सामुदायिक वनमा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार तीनै जनालाई जिल्ला अस्पताल दुनै ल्याइएको छ । चैत पहिलो साता कालीकोटको खाडाचक्र–५ स्थित नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा स्थानीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीले ज्यान गुमाए ।
कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ । ३ वर्षयता कर्णाली प्रदेशभर ४ सय ५२ आगलागीका घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने ५२ घाइते छन् । आगलागीबाट ५ सय २ घर नष्ट हुँदा ५६ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार यस वर्ष १ सय ४४ आगलागीका घटना हुँदा १४ जनाको मृत्यु भयो भने १२ जना घाइते र झन्डै १२ करोडको क्षति भएको छ । ‘पहाडी क्षेत्रका अधिकांश घर कच्ची र फुसको छानाका भएकाले आगलागी छिटो फैलिन्छ।’ कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले भने, ‘घरमा हुने आगलागी धेरैजसो असावधानीका कारण हुने गरेको छ, टुकी ननिभाएर सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत्का तार सर्ट हुँदा पनि हुने गरेको छ ।’

कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगो छिटो फैलिने गरेको उनको भनाइ छ । उनले अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुँदा, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको बताए । रेडक्रसकर्मी नरबहादुर नेपालीले पानी र प्रविधिको अभावमा पहाडी जिल्लामा बर्सेनि आगलागीबाट ठूलो क्षति हुने गरेको बताए । ‘अरू विपद् भन्दा आगलागीको क्षति ठूलो छ।’ उनले भने, ‘यसको रोकथामको प्रमुख कारण पूर्वतयारी र सावधानी नै हो ।’
आगलागीमा परेर घाइते हुनेको अवस्था झन् दर्दनाक छ । गत वर्ष स्थानीय भेरीपोखरा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा रुकुम पश्चिमको बाँफिकोट–४ का २० वर्षीय नन्दराम विक गम्भीर घाइते भए । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको तयारीमै रहेको अवस्थामा आगलागीमा परेका उनलाई पूर्णरूपमा सन्चो हुन झन्डै ३ महिना लाग्यो भने शरीरको बायाँतर्फको भाग अझै राम्ररी चल्दैन । ‘घटनापछि अन्तर्वार्ता नै छुट्यो, जागिर त खान पाइएन, अहिले अपांग जीवन बिताउनुपरेको छ,’ उनले भने, ‘अहिले सानो काम गर्न पनि सक्दिनँ, जीविकोपार्जनका लागि अभिभावकको भर पर्नुपरेको छ ।’
पछिल्लो समय सामुदायिक वनमा लागेको आगो फैलिएर बस्तीसम्म पुगी मानवीय क्षति बढिरहेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताए । ‘उपभोक्ताले नै घाँस राम्रो पलाउने लोभमा वनमा आगलागी गराउँदा ठूलो समस्या भएको छ, आगो लागेको १/२ घण्टापछि मात्र जानकारी आउँदा नियन्त्रणमा सकस हुने गरेको छ,’ उनले भने, ‘कतिपय वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोजलगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वनक्षेत्र मासिने गरेको छ । उनले बर्सेनि हुने आगलागीका कारण कर्णालीमा झन्डै ३ हजार हेक्टर वनक्षेत्र नष्ट हुने गरेको जानकारी दिए ।
मन्त्रालयका अनुसार अहिले विभिन्न जिल्लाका झन्डै ३१ वटा सामुदायिक वनमा आगलागी भइरहेको छ । सबैभन्दा बढी सल्यानमा ९ सामुदायिक वनमा आगलागी भइरहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार यो वर्ष १ सय ४ वटा सामुदायिक वनमा आगलागी हुँदा झन्डै २ हजार १ सय हेक्टरमा क्षति भएको छ । आगो लगाउने कार्यमा संलग्न भएको आरोपमा यो वर्ष २४ जनामाथि मुद्दा चलाइएको छ । ई–कान्तिपुर










