

सुर्खेत । गर्मीयाम शुरु भएलगत्तै सुर्खेतसँगै कर्णालीका विभिन्न जिल्लाहरुमा आगलागीका घटना बढिरहेका छन् । सुर्खेतका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ ।
यही चैत १ गते सिम्ता गाउँपालिकाको जामुने बजार नजिकको सामुदायिक वनमा आगलागी भएको थियो । त्यस्तै भेरीगंगा नगरपालिकाका विभिन्न सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोही दिन लेकबेसी नगरपालिकाको रुप्से सामुदायिक वनमा आगलागी भएको थियो ।
बढ्दो आगलागीका कारण सुर्खेतको वातावरण धूँवामय बन्दा वायु प्रदूषण बढेको छ । बढ्दो गर्मीका कारण जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना बढ्दै गएका छन् । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा स्थानीयले आफै आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताए ।
चैत २० गते जिल्लाको चौकुने गाउँपालिकाको बण्डाली सामुदायिक वनमा हावाहुरीसँगै अचानक लागेको आगलागीबाट धेरै नोक्सान भयो । प्राय ः दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरवाही नै बढी देखिएको छ ।
आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ । बिहीबार वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा आगलागी भएको थियो । आगलागीका कारण गाउँवस्ती उच्च जोखिममा परेका छन् ।
यसैवीच डोल्पामा नेपाली सेनाको असावधानीका कारण लागेको आगोले दुनै स्थित मष्टा भवानी सामुदायिक वन सखाप भएको छ । सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्म भदालेका सैनिक जवानहरुले ब्यारेक आसपासको फोहोर व्यवस्थापन गर्न लगाएको आगो नजिकैको वनमा सल्किएको हो ।
आइतबार दिउँसो सेनाले ब्यारेक सरसफाइ गर्ने क्रममा आगो लाग्दा ठुलिभेरी नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनका रुखविरुवा जलेर नष्ट भएको स्थानीय बिर्ख बहादुर रोकायले जानकारी दिए । हावाहुरी लाग्ने समयमा दिउँसो आगो लगाएर सेनाले सामुदायिक वनको ठुलो क्षति गरेको रोकायको भनाइ छ । डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत मुन रावतले सेना, प्रहरी, वनका कर्मचारी र स्थानीयको प्रयासबाट आगलागी नियन्त्रणमा आइसकेको जनाए ।

आगलागीले ज्यान लिन्छ

गएको चैत्र २ गते कालिकोटको खाडाचक्र–५ स्थित नवदुर्गा सामुदायिक वनको खर पाखोमा आगलागी हुँदा दुई जनाको मृत्यु भयो । बाख्रा चराउन गएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीले ज्यान गुमाए । गत माघमा मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा लाले सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्याल थिए ।
लालेकी श्रीमती सरस्वती सञ्ज्यालले आगो बालेर सुतिरहेको अवस्थामा आगलागी भएको थियो । आगलागीबाट तीन दाजुभाई लाले सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जल्यो । त्योभन्दा अघि असोजमा मुगु सदरमुकाम गमगढीमा आगलागी भयो । ८ घर पूर्ण रूपमा जले भने ३ वटा घरमा आंशिक क्षति पुग्यो ।
आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भए । कालीकोट र मुगुमा मात्र होइन, कर्णालीका १० वटै जिल्लामा वर्षेनि आगलागी र क्षतिको दर बढ्दो छ । आगलागीबाट प्रत्येक वर्ष कर्णालीबासीले ठूलो जनधनको क्षति ब्यहोरिरहेको प्रहरीको तथ्यांक छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा आगलागीबाट १५ जनाको मृत्यु भयो ।
२० जना घाइते भए । यो आर्थिक वर्षमा २०६ वटा आगलागीका घटनाहरु भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा १५ जनाको मृत्यु भयो भने ९ जना घाइते भए । यो वर्ष १ सय ३१ आगलागीका घटनाहरु भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए । यो वर्ष २२ सय १४ वटा घटनाहरु भएका थिए । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनाको अवधिमै १० जनाको मृत्यु भइसकेको छ भने ९ जना घाइते भएका छन् ।
१ सय १६ वटा आगलागीका घटनाहरु भएका छन् । कर्णालीमा घरबाट हुने आगलागीका घटनाहरु धेरै भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी बीरबहादुर ओली बताउँछन् । उनका अनुसार वन जंगलमा हुने आगलागीका घटनाहरुबाट पनि क्षति हुने गरेको छ ।
असावधानीले गर्दा घर र वन जंगलमा घटनाहरु हुने गरेका उनी बताउँछन् । यस्तै चिसो मौसममा आगो बालेर सुत्ने गरेकोले पनि घटनाहरु भएका छन् । उनले भने, ‘ जंगलमा खाएर फालेका चुरोटका ठूटाहरु बाट पनि आगलागीका धेरै घटनाहरु भएका छन् । जंगलमा गोठालो गएकाहरुले बालेको आगोले पनि घटनाहरु हुने गरेका छन् ।’
बारीमा स्याउलाहरु नष्ट गर्न लगाएको आगोले पनि ठूलो रुप लिने गरेको प्रहरीको भनाइ छ । ’विद्युत सर्ट भएर पनि घटनाहरु भएका छन्,’ उनले भने, ’स्थानीयले घाँस छिटो उम्रने लोभले वनमा आगो लगाउने प्रवृत्ति पनि घातक छ ।’
प्रहरीले आगलागीबाट बच्न र बचाउनको लागि सुरक्षित कर्णाली र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।











