एमाले रुकुमपूर्वको अध्यक्षमा गौतम

रुकुमपूर्व । नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा लिलामणि गौतम अध्यक्षमा निर्वाचित भएका छन् । एमाले रुकुम पूर्वको ९ औं जिल्ला अधिवेशनबाट शुक्रबार गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले गौतमको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।
बिहीबार विभिन्न झाँकी सहित उद्घाटन भएको अधिवेशन शुक्रबार भएको बन्दसत्रले उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढामगर र उपसचिवमा पशुपति खड्का तथा महिला उपसचिवमा केशकुमारी तुलाचनलाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक दामोदर पौडेलले जानकारी दिए ।

७ सदस्यीय लेखा समितिको संयोजकमा चिन्तामणि दाहाल र सचिवमा शोभाकर शर्मा निर्वाचित भएको उनले बताए । शुक्रबार नै आयोजित शपथग्रहण कार्यक्रममा आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गौतमले रुकुमपूर्वमा एमालेलाई नयाँ गतिमा लैजान आफुहरु गतिशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एमालेलाई जनताको अझै प्यारो पार्टी बनाएर आगामी निर्वाचनबाट जिल्लाको पहिलो दलका रुपमा स्थापित गर्न सबैको सहयोग अपरिहार्य रहेको जनाए । विकास, सुशासन र समृद्धिको खाका लिएर जनता वीचमा मिशन २०८४ अभियानलाई मूर्तरुप दिएर एमालेको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने गौतमले बताए ।