नेपालले कतारलाई ३२ रनले पराजित गर्‍यो

काठमाडौं । नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । यो नेपालको लगातार दोस्रो जीत हो । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो ।

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारलाई २ सय ११ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६४ रनको विष्फोटक नटआउट इनिङ खेले ।


दिपेन्द्रले १९ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, आसिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्लले ३५ रन बनाए। त्यस्तै, कुशल भुर्तेल १२ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १८ रन बनाए । कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन् । उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए ।

मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए । नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २–२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १–१ विकेट हात पारे  । प्रतियोगिताअन्तर्गत नै शनिबारको खेलमा समूह ‘बी’ अन्तर्गत युएईले लगातार दोस्रो जित निकाल्यो । युएईले बहराइनलाई ३७ रनले पराजित गर्‍यो । यसअघि आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएको थियो ।

Translate »