गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ

नेपालगञ्ज ।  बाँकेमा गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सी हुनेबारे गोप्य सूचना पाएको बाँके प्रहरीले खोजतलास गर्ने क्रममा नेपालगञ्ज २० का अमृतकुमार बर्मा रजानकी गाउँपालिका १ का रियाज खाँलाई नेपालगञ्ज १८ स्थित भाटभटेनी नजिकबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

वर्मा र खाँले विनान्स/विटगेटमार्फत युएसडिटी (क्रिप्टो करेन्सी) को अवैध कारोबार गरी सोबापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

डिएसपी डाँगीले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएको छ । बाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’ पक्राउ परेकालाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएकाे छ ।

Translate »