शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यक : कर्णाली प्रदेश प्रमुख परियार

नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश अध्यक्षमा नवराज घिमिरे

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्यालयहरुमा असल अभ्यासहरु अबलम्वन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले शैक्षिक रुपान्तरणका लागि सरकारसँगै शिक्षक, अभिभावक र विद्यालयहरुको समेत सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् ।

उनले प्रदेशका विद्यालयहरुमा प्राधानाध्यापकहरुले भोग्नु परेको समस्या समाधानका लागि आफुले सरकारसँग आवश्यक समन्वय तथा पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले आफुलाई अब्बल शिक्षकका रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धि गर्न समेत आवश्यक रहेको औल्याए ।

उनले आफ्नो पेशालाई मर्यादित बनाउन सांगठनिक सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जुट्न आग्रह गरे । त्यस्तै संघका केन्द्रिय सदस्य यामबहादुर श्रेष्ष्ठले भौतिक, शैक्षिक पूर्वाधारमा सुधार गर्दै सिकाइ क्रियाकलापमा परिवर्तन गरेर शिक्षामा रुपान्तरण गर्न सकिने सुझाव दिए ।

कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई प्रमुख महेशदत्त देवकोटाले शिक्षण सिकाइको शैलिमा परिवर्तन गरेर विद्यार्थीको आवश्यकतालाई ध्यान दिनसके शिक्षामा सुधार सम्भव भएको धारण राखें । यसैवीच सम्मेलनले नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश अध्यक्षमा नवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

उपाध्यक्षमा भक्तबहादुर शाही, महासचिव पूर्णप्रसाद पौडेल, सचिव टिकाराम सुवेदी, कोषाध्यक्ष लोकबहादुर खत्री, उप–कोषाध्यक्ष सुशीला शर्मा एवं सदस्य सचिवमा जनकबहादुर सिंह सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

सम्मेलनले सदस्यमा नेत्रमणि चालिसे (सुर्खेत), धनबहादुर रोकाय (दैलेख), कैलास रोकाय (हुम्ला), दिपराज शाही (कालिकोट), सत्यनारायण सिंह (डोल्पा), जयबहादुर थापा (जाजरकोट), धनबहादुर रोकाय (जुम्ला), देवेन्द्रकुमार चन्द (सल्यान), खडकबहादुर रोकाय (मुगु), शंकरकुमार रावल (रुकुम पश्चिम), महेन्द्रप्रसाद चौलागाई (कालिकोट), राजकुमार सापकोटा (सुर्खेत), धर्मराज उपाध्याय (दैलेख) र भानुप्रसाद शर्मा (सुर्खेत) लाई निर्वाचित गरेको छ । सम्मेलनले नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश समिति सल्लाहकार परिषद् संयोजकमा खगेन्द्र थापा समेत मनोनयन गरेको छ ।

संघका महासचिव लक्ष्मण श्रेष्ठका अनुसार शनिबार एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएका छन् । उनले आउँदो जेठ २६ र २७ गते काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको जानकारी समेत दिए ।

नवनिर्वाचित कर्णाली प्रदेश अध्यक्ष नवराज घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्राधानाध्यापकहरुको हक, हित र अधिकारका लागि प्रदेश समिति निरन्तर लागि पर्ने बताए ।

Translate »