नौमुलेका कृषक राडिपाखी बुन्न हौसिए
सुर्खेत । दैलेखको दुर्गम गाउँ नौफेराका कृषक राडिपाखी बुन्न हौसिएका छन् । पछिल्लो समयमा लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनको आकर्षक वस्तु बुनेर आयआर्जन गर्न उनीहरु हौसिएका हुन् । नौमुलेका अधिकांस गाउँमा भेडा तथा बाख्रा पालन हुन्छ । ऊन खेर गइरहेको छ । सीप नहुँदा परम्परागत राडीपाखी बाहेक अन्य बस्तु उत्पादन हुन सकेको छैन् ।
उद्योग उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोगमा तीन महिने राडिपाखी बुनाई तथा सीप सुधार तालिम दिएपछि दुर्गमका किसान ऊनका विभिन्न वस्तु निर्माण गरेर बजारमा लैजाने तिर आकर्षित भएका हुन् । उनीहरुले गलवन्दी, गलैंजा, राडी, पाखी, कोटे कपडा सबै बुन्न सिकेका हुन् ।
‘यो अवधिमा भेडा लगायतको उनबाट राडिपाखी लगायतका सामग्री बुन्न दक्ष भयौं,’ नौमुले गाउँपालिका–२, नौफेराका घोरबहादुर मल्लले भने, ‘हामीले पहिले नै सीप सिकेका थियौं । तर अहिले आधुनिक प्रविधिको प्रयोग गरेर राडीपाखी बुन्न सक्ने भयौ । गाउँमा जाने बित्तिकै व्यवसायीक रुपमा लागेर गाउँका किसानलाई पनि सीप सिकाउनेछौं । यो दुर्गमका किसानका लागि निकै लाभदायक विषय हो ।’
ऊनको कम्मल बुन्छन् । राडिपाखी बुनेर भेडाको उनको सदुपयोग गर्छन् । खसीबाख्राको बर्खल (उन) बाट लिउँ, फेरे (ऊनबाट बनेको कार्पेट) बनाउँछन् । ओड्ने ओछ्याउने कपडाको लागि यहाँका किसानलाई अहिले पनि समस्या पर्दैन् । स्थानीय साधनस्रोतबाट ओढ्ने ओछ्याउने जुटाउँछन् । तर अहिले राडीपाखीका अलवा अन्य बजारसम्म पनि सहजै रुपमा किनबेच भइराख्ने वस्तु उत्पादन गर्न सिकेकोमा उनीहरु खुसी देखिएको मुख्य प्रशिक्षक खड्कबहादुर सिंहले भने ।
यता उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृपजंग शाहीले स्थानीय स्रोतसाधनमा आधारित पराम्परागत सीप विकासले कृषकको आम्दानीसँगै स्वरोजगार बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताए ।
‘दुई लाख पचास हजार रुपैयाँको लागतमा ७ महिलासहित ४ जना पुरुषलाई राडिपाखी, फेरे बुनाईसँगै ऊन कटाई सीप राम्रो तरिकाले सिकेका छन्,’ उनले भने, ‘स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थाल्यो भने यहाँका कृषक भेडापालनमा आकर्षित हुनेछन । भेडापालनले यहाँको जलवायुमा समेत अनुकुलन ल्याउनेछ ।’
उनले गाउँमा गुणस्तरीय सामाग्रीको उत्पादन भएको खण्डमा उत्पादित सामाग्रीको बजार खासै अभाव नहुने बताए । कृषकको आयस्रोत बृद्धिसँगै भेडापालन फस्टाउने हिसावले प्रदान गरिने यस्ता सिकेको सीप गाउँमा गएर कार्यन्वयन गर्न तालिमका प्रशिक्षार्थीसँग उनले आग्रह गरे ।
‘तपाईले उत्पादन गरेको वस्तु बजारसम्म पुगेको सुन्न चाहान्छौं,’ उनले भने, ‘सीप अरुलाई पनि हस्तान्तरण गर्नुहोला । आफूपनि व्यवहारमा कार्यन्वयन गरेर उदाहरणीय बन्नुहोला ।’
तालिमका सहभागि अमृता मल्लले भनिन्, ‘यो पटक राडिपाखीका अलवा गलैंचा बुन्न सिक्ने अवसर मिल्यो । पहिले गाउँमा झन्झटिलो रुपमा राडिपाखी बुन्ने गथ्र्यौँ । अहिले आधुनिक हिसावले छिटो छरितो रुपमा ऊनबाट बनाउन सकिने सबै सामग्री बुन्न सिक्यौँ । गाउँमा विभिन्न प्रकारका वस्तु बुनेर आयस्रोत बढाउन सक्ने गरि सक्षम भइसकेका छौँ । अब ऊनबाट उत्पादित सामग्री बेचेर भएपनि आयआर्जनका क्रियाकलापमा सहभागी बन्न सक्ने हैसियत बनाइसकेका छौं ।’
दैलेखको दुर्गम नौमुले गाउँपालिका–२, नौफेराका कृषकलाई नव उद्यमी बनाउने उद्देश्य आयोजना गरिएको ऊन प्रशोधन तथा राडिपाखी बुनाई सीप विकास तालिमबाट सीप सिकेर आत्मनिर्भर बन्ने बाटो खुलेको उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका कार्यक्रम अधिकृत पर्शुराम आचार्यले बताए ।