नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ भारतमा पक्राउ

अन्नपूर्ण पोष्ट /धनगढी । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ । मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।
पलिया थानाका ईञ्चार्ज विवेककुमार उपाध्यायको नेतृत्वमा, उपनिरीक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरीक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादब सहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुबैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन् । ईविगुल डटकमले विक्की नेपाली भनिने विक्की गुप्तासहितका सीमापारीका कारोबारीहरुको तस्बिरसहित पुस २४ गते रिपोर्ट प्रकाशित गरेको थियो ।
कैलाली प्रहरीले पनि दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको जनाएको छ । ‘दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् । हामीले भारतको निर्वाचन केन्द्रित दुई देशका अधिकारीहरुको बैठकमा यो कुरा प्राथमिकताका साथ उठाएका थियौं, भारतीय समकक्षीहरु एक्सनमा गएछन्, राम्रो काम गरे’, कैलालीका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने ।
विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजी गरेको थियो ।

उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभित्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए । २०८० सालको असारको महिना धनगढीकी कमला देवी अवस्थीको साथबाट बरामद भएको ब्राउन सुगर यिनै विक्की गुप्ताले विस्कुटभित्त्र पठाएको खुलेको थियो ।
कमला, ब्राउन सुगरकै कारोबारमा पक्राउ परेका छोरा र बुहारीलाई खाना पुर्याउन कैलाली कारागार जाने बेला गेटमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थियो ।
उक्त ब्राउन सुगर पनि विक्की नेपाली भनिने विक्की गुप्ताले पठाएको खुलेको थियो । प्रहरीले त्यही दिनदेखि नै उनको खोजी सुरु गरेको थियो । लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी भारतको पलियामा डेरा गरी बस्दै आएका थिए ।
अंकित माल्याको नाम नै भारतमा ‘ड्रग्स किंग’ हो । उनी पलियामा बसेर नेपालका लागि ब्राउन सुगरको कारोबार गर्ने ब्यक्ति हुन् । नेपालका कञ्चनपुर, कैलाली, बाँके र बर्दिया जिल्ला आसपासमा ब्राउनसुगरको कारोबार गर्ने नेपालीहरु उसकोबाट लागुदार्थ किन्ने गर्छन् । उनलाई, नेपाल प्रहरीको लागुपदार्थ ब्युरोले लाखौंको कारोबार गर्ने भनेर नेपाल बोलाउन चाहे पनि उनी नेपाल नआएका व्यक्ति हुन् ।
नेपालमा ब्राउन सुगरको कारोबारमा पक्राउ परेर अहिले जेलमा रहेका अधिकांश ब्यक्तिको बयानमा पनि अंकितले दिएको उल्लेख छ । भारतीय प्रहरीले उनीहरुलाई भारतको एनडिपिएस एक्टको धारा १६९ अनुसार मुद्धा चलाउने जनाएको छ ।
नेपाल भारतको सीमा बैठकका बेला, विक्कीसहितका दर्जनभन्दा बढी सीमापारी ब्राउन सुगरको कारोबारीहरुको तस्बिर, फोन नम्बर सहितको विस्तृत विवरण नेपाल प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो ।