अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम
सुर्खेत । ईलाका प्रहरी कार्यालय छिन्चुले बाल विवाह तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरणका लागि अल्पसंख्यक समुदायसँग सचेतना कार्यक्रमहरु सञ्चालन गरेको छ ।
प्रहरीले भेरीगंगा नगरपालिका–१२, फुलबारी टोलमा बुधबार अल्पसंख्यक समुदायका अगुवा मानबहादुर राजीको अध्यक्षतामा ‘बाल विवाह तथा लागुऔषध दुव्र्यसनी’ न्यूनिकरणका लागि सचेतना कार्यक्रम गरेको हो ।
ईप्रका छिन्चुबाट प्रहरी हवल्दार गणेशबहादुर खत्रीको कमाण्डमा गएको प्रहरी टोलीले बाल विवाह रोक्न स्थानीय बासिन्दानै बढी जवाफदेही हुनु पर्नेमा जोड दिएको छ ।
समाजको सक्रिय सहभागिताबाटै बाल विवाह उन्मूलनसँगै लागु औषध दुव्र्यसनी जस्ता विकृति हटाउन सकिने प्रहरी हवल्दार खत्रीले धारणा राखें । कार्यक्रममा समाजसेवी राजीले समाज र राष्ट्रको उन्नती तथा प्रगतिका बाधक बाल विवाह तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरणमा सबैपक्षसँग हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
उनले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’ ले प्रभावकारी परिणाम दिनेमा आफु विश्वस्त रहेको धारण राखें । कार्यक्रममा प्रहरी सेवा, प्रहरीमा उजुरी दिने प्रक्रिया, शान्ति सुरक्षा तथा अपराध रोकथाम नियन्त्रणमा स्थानीय नागरिकको भूमिकाबारेमा समेत समुदायलाई जानकारी गराईएको थियो ।
यसैवीच प्रहरी चौकी मालारानी सुर्खेतबाट प्रहरी वरिष्ठ हवल्दार जयबहादुर घर्तीको कमाण्डमा गएको प्रहरी टोलीले जिल्लाको गुर्भाकोट नगरपालिका–२, स्थित खरीगैरा टोलमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
समाजसेवी काँसीराम गाँहाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय अगुवासँगै बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधिहरुले अशिक्षा, गरिवी र बदलिँदो परिस्थितिले आत्महत्या जस्ता घटनाहरुको रोकथाम तथा न्यूनिकरणका लागि सरकारी स्तरबाट थप सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको औल्याएका थिए ।
यस्तै ईलाका प्रहरी कार्यालय लेकवेशीका प्रहरी नायब निरीक्षक वीरबहादुर बोहराको कमाण्डमा खटिएको प्रहरी टोलीले लेकवेशी नगरपालिका–६, कल्याणमा विभिन्न कामको सिलसिलामा आएका सेवाग्राहीहरुसँग आगलागी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा गर्मीयाम लागेसँगै दिनहुँ जस्तो वन जंगलसँगै पाखावारीमा लाग्ने वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।