चालु आवको ९ महिनामा नेपालगन्ज विमानस्थलबाट ३ लाख ५५ हजारले गरे यात्रा

बाँके । नेपालगन्ज विमानस्थलबाट चालू आर्थिक वर्षको ९ महिनामा ३ लाख ५५ हजार ७ सय ३२ जनाले हवाई यात्रा गरेका छन् ।

विमानस्थल हुँदै चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म ९ हजार २ सय ५४ उडान भएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए ।

नेपालगन्ज विमानस्थलबाट १ लाख ७६ हजार ९ सय २४ जना नेपालगन्ज आएका छन् भने १ लाख ७८ हजार ८ सय ८ जना नेपालगन्ज विमानस्थल हुँदै अन्य गन्तव्यमा गएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालगन्ज विमानस्थल प्रमुख खनालका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १४ हजार ७५ उडान भएका थिए । त्यसमा २ लाख ४४ हजार ५ सय ३८ जना आएका थिए भने २ लाख ५२ हजार १ सय ३२ जना यात्रुहरू अन्य गन्तव्य गएका थिए ।

आन्तरिक उडानतर्फ देशकै अति व्यस्त विमानस्थलका रूपमा नेपालगन्ज विमानस्थल रहेको छ। विमानस्थलबाट काठमाडौँ, पोखरासहित पश्चिमका पहाडी तथा हिमाली जिल्लामा नियमित उडान हुँदै आएको छ। रेडियो नेपाल

Translate »