खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित

बाँके । वैशाख दोस्रो साता बितिसक्दा पनि पानी नपरेका कारण खेतबारीमै बालीनाली सुक्न थालेपछि बाँके जिल्लाका किसानहरू चिन्तित भएका छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ। पानीका मुहान सुकेका छन् । कोहलपुरका धेरै ठाउँमा हाते नल सुक्न थालेका छन् भने खानेपानीको मुहान समेत सुक्न थालेकाले बिहान र बेलुका बाहेक अरू बेला पानी आउन बन्द भएको छ। वैशाखको तातो हावा पछिल्लो समय बढेको वायु प्रदूषणले मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ ।

हिउँद याममा राम्रोसँग वर्षा नभएपछि अघिल्लो बर्ष जस्तो गहुँ, जौ चना मुसुरो लगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको बाँके कोहलपुर ७ लखनाका किसान राम बहादुर थारुले बताए । ‘हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । समयमा वर्षा नहुँदा हिउँदे बाली खेतबारीमै सुक्न थालेको दुखेको उनको छ ।‘ हिउँद यामभरि वर्षा नभएपछि सिँचाइको अभावले यसपालि गहुँ, जौ ,चना मुसुरो लगायतका हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ । यस्तै भयो भने त भोकमरीले मरिने भयो,’बैजनाथ ७ का किसान दुखिराम खत्रीले गुनासो गरे।

लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले आलसतालस बनाइरहेको छ। किसान बारीमा मकै छर्न नपाएर छटपटाइरहेको खजुरा– ३ का कृषक रविलाल कँडेलले बताए। गएको बर्खा पछि राम्रोसँग पानी परेको छैन। खेतमा छरेका मकै, घाँस खेतमा नै सुकेको छ। बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन्। तरकारी र फलफूलका बिरुवा मर्न थालेका छन् । वनजङ्गल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहान सुकिराखेका छन् । स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ उनले भने ।

‘मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा रहेको कोहलपुर ७ का जनप्रतिनिधि ठग्गा थारुको भनाइ छ। लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबालले बताए । उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार विशेष गरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको बबालले बताए ।

बाँकेका धेरैजसो स्थानमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, मुसुरो व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ। (रेडियो नेपाल)

Translate »