बाँकेको गौघाटमा राखिएका मुर्रा राँगाबाट वीर्य उत्पादन हुँदै

बाँके । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य संकलन सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भारत भ्रमण गएको बेला सम्झौता भई गत मंसिरमा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको छ। भारतबाट नेपाल ल्याइएका १५ वटा मुर्रा राँगामध्ये ३ वटा मुर्रा राँगाबाट नेपालगन्ज राखिएको र ती मध्य २ वटाबाट वीर्य संकलन गर्न सुरु गरिएको डा.खगेन्द्रराज सापकोटाले बताए। भारतबाट नेपाल ल्याइएका मुर्रा राँगामध्ये २ वटा मुर्रा राँगाबाट १४३ डोज जमेको वीर्य उत्पादन गरिएको छ ।

पशु बिकास अधिकृत डाक्टर मिलन चौधरीले कार्यालयमा दुई वर्षदेखि उन्नत जातका साढे, राँगा र बोयर बोकाबाट कृत्रिम गर्भाधानबाट वीर्य संकलन गरि लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाउने गरिएको बताए । उनले वीर्य संकलन गरि ३५ डिग्री देखि प्रशोधन गरि माइनस १४० डिग्री सेल्सियससम्म भण्डारण गर्ने भएकोले गुणस्तरमा कमी नहुने बताए ।

कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले कार्यालयबाट मुर्रा राँगा जर्सी तथा बोयर बोकाबाट यस वर्षको फागुन मसान्तसम्म ६४ हजार ४० डोज वीर्य उत्पादन गरिएको बताए । उनले यो तथ्यांकमा भारतबाट ल्याइएका मुर्रा राँगाबाट संकलन गरिएको १४३ डोजसमेत सामेल भएको बताए।

कार्यालयमा भारतीय मुर्रासहित राँगा १९ वटा ,साढे १२ वटा , बोका १७ वटा र बाख्रा ४ वटा गरि जम्मा ५२ बटा पशुहरू रहेका छन् । यी मध्य ३२ वटाबाट कृत्रिम वीर्य उत्पादन गर्ने र बाँकीले प्राविधिक गर्भाधान गराउने गरिएको जैशीले बताए।

उनले राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य संकलन गरिँदै आए पनि बोयर बोकाबाट भने नेपालगञ्ज कार्यालयबाट मात्र वीर्य संकलन हुँदै आएको जानकारी दिए । उनले हप्तामा दुई दिन सोमबार र बिहीबार वीर्य संकलन गरिने बताएका छन् । (रेडियो नेपाल)

 

Translate »