एमाले बर्दियाको अध्यक्षमा अधिकारी निर्वाचित

 

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित भएका छन् । लाल बहादुर श्रेष्ठलाई १० मतले उछिन्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारीले १ सय ८० मत प्राप्त गर्दा श्रेष्ठले १ सय ७० मत ल्याएका हुन् । १० औं जिल्ला अधिवेशनले कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो । दुई वटा प्यानलमा निर्वाचनमा सहभागी थिए । उपाध्यक्ष पदका विजयी दुर्गाबहादुर वली १ सय ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले १ सय ५९ मत प्राप्त गरेका छन् ।

सचिवमा पदम ढकालले १ सय ७९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नैन बहादुर खत्रीले १ सय ६८ मत प्राप्त गरेका छन् । उप–सचिव खुलातर्फ लहानु थारुले १ सय ७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जीवन शाहीले १ सय ५८ मत प्राप्त गरे । उपसचिव महिलातर्फ संगीता थारुले १ सय ८७ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका प्रतिद्वन्द्वी मन्जु शर्माले १ सय ५१ मत प्राप्त गरिन् ।

कुल ३ सय ६४ प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ३ सय ५९ मत खसेको थियो । अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनले विष्णु भट्टराईको अध्यक्षतामा ७ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

Translate »