बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन : एकीकृत समाजवादी
एनटीभी अनलाईन /काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरु गलत रहेको भन्दै त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गरेको छ ।
बैठकमा सबै सांसदहरुको उपस्थिति रहेको र पार्टी संसदीय दल एकताबद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । उनले पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरु नियोजित रहेको जनाए । बैठकमा सांसदहरुले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे । संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका बिषयहरु शसक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए । उनले अहिलेको अवस्थामा दलहरु बिभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राखे ।