विश्व रेडक्रस दिवस : मानव बढेपनि मानवता घटिरहेको प्रति चिन्ता
सुर्खेत । संसारभरी मानवको संख्या बढेपनि मानवता घटिरहेको प्रति चिन्ता जाहिर गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले विश्व रेडक्रस दिवसको अवसर पारेर आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पछिललो समय तेजीले मानवता विहिन संस्कृति मौलाउदै गईरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो ।
नेपाल रेडक्रस कर्णाली प्रदेशका उप निर्देशक राजकुमार क्षेत्रीले मानवता प्रवद्र्धनका लागि समाजका हरेक तह र तप्काबाट विभिन्न अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको औल्याए । उनले मानवताको न्यून मुल्य मान्यताको समेत ख्याल नराखी गरिने बेजिम्मेवारी क्रियाकलाप मानवताबिहिन संस्कृति उन्मुख भईरहेको प्रति चिन्ता व्यक्त गरे ।
‘शासन व्यवस्था, संविधानमा जे जस्तो समानता र मौलिक हक अधिकार स्थापित भएता पनि कार्यान्वयन कर्ताको चेतना स्तर नभएपछि त्यसले दिने परिणाम पनि नकारात्मक नै हुन्छ,’ उनले भने, ‘जुनरुपमा विश्वव्यापी राजनीतिक कलहले थुप्रै खाले समस्याहरु उत्पन्न भईरहेका छन् । त्यसबाट आन्तरिक र बाह्य सन्तुलन विग्रिँदा जाँदा मानव बढेपनि मानवता घटिरहेको छ ।’
उनले आफ्नो कार्यपत्र मार्फत रेडक्रसकर्मी भन्नेहरु भित्रै पनि मानवता खोज्नुपर्ने बेला समेत आएको बताए । पछिल्लो परिस्थितिले रेडक्रसका मूल्य, मान्यता अनुरुपका गतिविधिहरु सहज तथा सरल तरिकाले प्रवाह नहुँदा प्रतिकुलता प्रति रेडक्रमीहरुलाई सजग र सचेत हुन उनले आग्रह गरे ।
रेडक्रसको विद्यान अनुसारको संगठनलाई गतिशील बनाउन ग्रासरुट स्तरबाट सदस्यता बृद्धिसँगै आर्थिक संकलन तथा रचनात्मक गतिविधिहरुलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । नेपाल रेडक्रस सोसाइटी रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा रहेपनि पछिल्ला गतिविधिहरुले रेडक्रसकर्मी भित्रै चिन्ता, मन्थन गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य रामलाल आचार्यले कोरोना महामारीपछि रेडक्रसका गतिविधिहरु केही सुस्त रहेपनि अब परिस्थिति अनुकुल बन्दै गईरहेकाले सबैसँगको सहयोग तथा समन्वयमा रेडक्रस अभियानलाई तीव्रता दिईने बताए । उनले रेडक्रसको अयिानलाई गतिशील बनाउन सुर्खेत केन्द्रित भएर कर्णाली प्रदेशभरी विभिन्न सांगठिन तथा रचनात्मक कार्यहरुलाई समुदायस्तरसम्मै मुर्तरुप दिन लागिएको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपद्का घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आव्हान गरे । उनले विभिन्न दातृ संघसंस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवर्द्धनजस्ता कार्यहरु गरिएको जानकारी दिए ।
विश्व रेडक्रस दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको उनको भनाइ छ । दिवसकै अवसर पारेर चर्चित आँखा रोग विशेषज्ञ डाक्टर शक्तिप्रसाद सुवेदीलाई रेडक्रकको आर्दश र सिद्धान्तमा आस्थावान भई संस्थाको विकासमा सहयोग गरे वापत विशिष्ट सदस्यता प्रदान गरिएको छ ।
विशिष्ट सदस्यता ग्रहण गर्दै डाक्टर सुवेदीले आफु शुरुदेखि नै रेडक्रसको अनुयायी रहेको र आउँदा दिनहरुमा पनि निन्तर सहयोग तथा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरे । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस सुर्खेतहित देशैभर विविध कार्यक्रम गरी मनाईएको छ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ । यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
यसै सन्दर्भमा यस वर्षको नारा ‘मानवतालाई जीवित राखौं’ ले यस अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु¥याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ, भन्ने सन्देश दिन खोजिएको छ ।