कर्णाली हाफ म्याराथनको उपाधि रावतलाई

सुर्खेत । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावलले जितेका छन् । शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा नेपाली सेनाका रावत प्रथम भएका हुन् ।
यस्तै, नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो हुन सफल भएका छन् ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने जनाए ।
‘कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरूप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको छ,’ उनले भने, ‘प्रदेशको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने छ ।’
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको जनाए ।