लभ एण्ड होपद्वारा विपन्न बालबालिकालाई स्टेशनगरी तथा पोशाक सामग्री सहयोग

सुर्खेत । लभ एण्ड होप नेपालले वीरेन्द्रनगरका विपन्न तथा दलित बालबालिकालाई स्टेशनगरीसँगै पोशाक सामग्री सहयोग सामग्री सहयोग गरेको छ ।

मानव बेचविखनको उच्च जोखिममा रहेका बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको लभ एण्ड होप नेपालले वीरेन्द्रनगर स्थित शिव माध्यमिक विद्यालयको झुप्रा खोलामा रहेको बालविकास केन्द्रसँगै कालिका प्राथमिक विद्यालय सुब्बाकुनाका १ सय १२ जना विद्यार्थीलाई स्टेशनगरीसँगै पोशाक सामग्री सहयोग गरेको हो ।

विद्यालयमा पढ्न सहज होस भनेर बालबालिकालाई शैक्षिक सामाग्रीसँगै पोशाक सहयोग गरिएको लभ एण्ड होप नेपालका अध्यक्ष शम्भुशंकर पोखरेलले जानकारी दिए । उनले बालबालिकालाई विद्यालय छाड्न नदिन विगत सात वर्षदेखि लभ एण्ड होप नेपालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विपन्न तथा दलित विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै पोशाक सहयोग गर्दै आईरहेको बताए ।

सबैका लागि शिक्षा नामक परियोजना सञ्चालन गर्दै आईरहेको लभ एण्ड होप नेपालले मानव बेचबिखनको उच्च जोखिम रहेका जाति तथा समुदायलाई लक्षित गरी शिक्षालाई नै मुख्य आधार बनाएर आत्मनिर्भर हुन प्रेरित गर्दै आईरहेको छ ।

‘विभिन्न दाताहरुको सहयोगमा स्थानीय र प्रदेश सरकारको सहयोगमा विद्यालय पढ्ने बालबालिकालाई निरन्तरता दिन प्रयास गरिरहेका छौं,’ अध्यक्ष पोखरेलले भने, ‘कर्णालीका सुर्खेत, दैलेख र रुकुम पश्चिमका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री, पोशाकसँगै युवायुवतीहरुलाई स्वरोजगार बनाउने अभियान अघि बढाएका छौं ।’

पालिकाले नै जोखिम र आर्थिक अवस्था कमजोर रहेका बालबालिकाको पहिचान गरेर सिफारिस गरेपछि लभ एण्ड होप नेपालले दाताहरुको सहयोगमा शैक्षिक सामाग्री, पोशाक, तथा अन्य खर्च सहयोग गर्ने गरेको उनको भनाइ छ ।

विपन्न परिवारका बालबालिकाहरु आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोउन् भन्ने उद्धेश्यकासाथ बालबालिकाहरुलाई लभ एण्ड होप नेपालले शैक्षिक सामाग्री सहयोग गरेको शिव माध्यपमिक विद्यालय धुलियाविटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले जनाए । विगत ७ वर्षदेखि विपन्न तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी, कलम, ज्यामिटी बक्स, मसी, ड्रेस, जुत्ता मोजा लगायतका सामाग्रीहरु सहयोग गर्दै आईरहेको उनको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिका–११ नम्वरका वडाध्यक्ष खिमलाल देवकोटाले शैक्षिक सामग्रीको अभावले विद्यालय जान नसक्ने बालबालिकालाई वडाकार्यालयसँगै लभ एण्ड होप नेपालले समेत सहयोग तथा सहकार्य गर्दै आईरहेको जनाए । ‘अब शैक्षिक सामग्रीको अभावले हाम्रा बालबालिका विद्यालय गएनन् भनेर भन्ने ठाउँ छैन्,’ उनले भने, ‘सहयोगी निकायले गरेको सहयोगले वडा कार्यालयलाई धेरै भएपनि आर्थिक भार कम हुँदै गएको छ ।’

उनले लभ एण्ड होप नेपालले वीरेन्द्रनगरका सीमान्तकृत, विपन्न, जोखिममा रहेका बालबालिका र विद्यालयमा लामो समयदेखि सहयोग गदै आएको बताए । बालविवाह न्यूनीकरण, गुणस्तरीय शिक्षाका साथै बालबालिका, महिलामाथि हुने हिंसा न्यूनीकरणका सवालमा समेत लभ एण्ड होप नेपालले काम गरिरहेको छ ।

Translate »