एमाले सुदूरपश्चिमले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
धनगढी । नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । धनगढीमा आज बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी प्रदेश सभा सदस्य धर्मराज पाठकले दलको बैठकले भोली जेठ ३ गते प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले एमाले तत्काल सरकार नजाने निर्णय बैठकले गरेको समेत जानकारी दिए । यसैगरी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्ता साझेदार दलसँग छलफल गर्ने निर्णय भएको उनको भनाइ छ ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता सोडारीलाई जेठ ४ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थन रहेको छ ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र (सभामुख सहित) ११, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।