

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा रहेका रेडियो नेपालका संरचनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले प्रादेशिक प्रसारणका लागि कार्यक्रम सञ्चालन, उत्पादन तथा मेशिनरी सामाग्रीमा प्रदेश सरकारले स–साना रकम सहयोग गर्नुको सट्टा कर्णालीमा रहेका रेडियो नेपालका संरचना नै प्रदेश सरकारलाई हस्तान्तरण गर्दा उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।
उनले भौगोलिक विविधता रहेको कर्णालीमा अहिलेपनि रेडियोको महत्व कायमै रहेकाले संघीय सरकारको अधिनमा रहेको रेडियो नेपालका कर्णालीमा रहेका संरचनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्दा व्यवहारिक तथा आर्थिक हिसावले समेत उपयुक्त हुने बताए । आम नागरिकलाई सुःशिक्षित गराउँदै सूचना तथा ज्ञानगुण र मनोरञ्जन गराउने कार्यमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रदेश सरकार रेडियो नेपालसँग जतिबेला पनि हातमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यस अवसरमा कार्यकारी निर्देशक केसीले कर्णालीमा रेडियो नेपालको एउटा प्रादेशिक प्रसारण केन्द्रसँगै आठ वटा एफएम रिले स्टेशनहरु मार्फत रेडियो प्रसारण सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । उनले दैनिक ४ घण्टाको प्रादेशिक प्रसारण गर्दै आईरहेको सुर्खेत प्रसारण केन्द्रका लागि आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी कार्यक्रम उत्पादन प्रस्तावसहित प्रसारण सुदृढिकरणका योजनाका बारेमा मुख्यमन्त्री कँडेलसँग छलफल गरे ।
रेडियो नेपालका नायव कार्यकारी निर्देशक (ईन्जिनियरीङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार उपनिर्देशक पुस्कर बराल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्राविधिक अधिकृत नरेशसिंह थापालगायतको टोलीले कर्णालीका मुख्यमन्त्री कँडेलसँग भेटघाटसँगै समसामयिक विषयवस्तुमा छलफल गरेका थिए ।










