नेपालगञ्जमा असार ७ गतेसम्म गर्मी बिदा लम्बियो

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म गर्मी बिदा थपेको छ । अत्यधिक गर्मी र तातो हावाको लहर ‘लु कारण पठनपाठनमा समस्या देखिएपछि जेठ १५ देखि १८ गतेसम्म बिदा दिएको उपमहानगरपालिकाले असार ७ गतेसम्म बिदा लम्ब्याएको हो ।

शिक्षा महाशाखाले निकालेको क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा उल्लेख गरिए पनि गर्मी अत्यधिक बढेकाले अब उक्त बिदालाई अघि सारेर मिलान गरिएको उपसचिव गोर्ख बहादुर थापाले बताए । थापाका अनुसार असार ९ गतेदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुचारु हुनेछ ।
गर्मी अत्यधिक बढेपछि बाँकेका सबैजसो पालिकाले गर्मी बिदा दिएका छन् ।