मुगु कर्णाली करिडोरसँग जोडिँदै

मुगु । आगामी असार मसान्तसम्म मुगु राष्ट्रिय गौरवको आयोजना ‘कर्णाली करिडोर’ सँग जोडिँदै छ । कर्णालीको ‘लाईफ लाइन’ को रुपमा रहेको ‘कर्णाली करिडोर’ हुम्लापछि मुगुसँग जोडिन लागेको हो ।

अहिले हुम्लाको सीमासँग जोडिएको सोरु गाउँपालिका– १ र २ मा पर्ने पिपलमुडा भन्ने स्थानको कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको १ महिना भित्र कर्णाली करिडोर मुगुको सोरू गाउँपालिकामा जोडिन सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले जानकारी दिए । उनले सोरु गाउँपालिकाको आर्थिक लगानीमा बेलिब्रिज निर्माणको काम भईरहेको बताए ।

कर्णाली राजमार्ग भन्दा कर्णाली करिडोर यात्रा गर्दा हिउँदमा हिमपातको समस्या नहुने तथा छिटो र छरितो रुपबाट सुर्खेत नेपालगञ्ज मुगुबाट गाडीमा सवार गर्दा एक दिनमा पुगिने भएकाले सोरू गाउँपालिकाले पिपलमुडाको बेलिब्रिजमा लगानी गरेको सोरु गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीले जनाए । ४ करोड ५० लाख लगानी रहेको उक्त बेलिब्रिज पुलले हुम्ला र मुगु जोड्ने छ । सोरूकोटदेखि पिपलमुडासम्म यस अघि नै ट्¥याक खोली सकिएको छ । पिपलमुडा वेलिब्रिज बन्ने बित्तिकै कर्णाली करिडोर भएर आउने सवारीसाधनहरु सिधै सोरुकोट हुँदै गमगढी पुग्ने अपेक्षा गरिएको छ ।

यस अघि सुर्खेत पुग्न दुई दिनको समय लाग्नेमा अब एक दिनको समय छोटिने छ भने नेपालकै पर्यटकीय गन्तव्य स्थल रारा घुम्न आउने पर्यटकहरुलाईसमेत ठूलो राहात पुग्ने जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले विश्वास व्यक्त गरे । बजेट अभावका कारण बेलिब्रिज निर्माणमा केही ढिलाइ भएपनि योजना स्थलमा सबै निर्माण सामाग्रीहरू पुगिसकेपछि निर्माणको काम अन्तिम चरणमा पुगेको हो । जलभ रबिचक्र जेभि निर्माण कम्पनीले बेलिब्रिज निर्माणको जिम्मा लिएको छ ।

Translate »