प्रचण्ड गर्मीसँगै अस्पतालमा बिरामी बढे

सुर्खेत । अत्यधिक बढ्‌दो गर्मीसँगै सुर्खेत, बाँके र बर्दियाका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । दैनिकजसो ओपिडीमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको अस्पतालहरुले जनाएका छन् । धेरैजस्तो बिरामीहरूलाई हट स्टोक समेत देखिएको बताइन्छ ।

केही समय यता सुर्खेतलगायत पश्चिम तराईमा बढेको गर्मीसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ। सुर्खेत स्थित प्रदेश अस्प्ताल, नेपालगन्जस्थित भेरी अस्पताल, नर्सिङ होम, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप बढेको हो । ज्वरो आउने, पेट दुख्ने, झाडापखालालगायतका लक्षण देखिएका बिरामीहरू बढिरहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले जानकारी दिए ।

भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक दुई सय जना बिरामीको उपचार हुन्थ्यो । अहिले त्यो सङ्ख्या बढेर तिन सय बढी पुग्ने गरेको अस्पताले जनाएको छ। बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरुलाई बेड पाउन समस्या भइरहेको अस्पतालका डा. रिसालले बताए । उनले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी रहेको जनाए । ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्,’ उनले भने, ‘अन्य बेला यस्तो हुँदैनथ्यो । नयाँ बिरामी थपिएपछि उपचारमा समस्या छ ।’

चर्को गर्मीपश्चात् पानी परेमा अस्पतालमा अझै बिरामीहरुको चाप बढ्ने डा. रिसालले जानकारी दिए । उनका अनुसार पानी परेमा ज्वरो आउने र सर्पले टोकेका बिरामीहरुको चाप धेरै हुनेछ । यतिबेला तापक्रम उच्च छ । लूले शरीरमा जलन उत्पन्न गर्दा स्वास्थ्यमा प्रतिकूल असरको प्रभाव देखिइरहेको छ। हात खुट्टा दुख्ने, थकान महसुस हुने, बेहोस हुने, वान्ता हुने, पखाला लाग्ने बिरामीका साझा समस्या देखिनुले ‘लू’ को प्रभाव भएको उपचारमा सङ्लग्न चिकित्सकहरू बताउँछन् ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा समेत ओपिडी उपचार गराउन आउने बिरामीहरुको चाप उच्च रहेको छ । केही दिन अघिसम्म अस्पतालमा हट स्टोकुका बिरामीहरु समेत उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी सन्जु पन्तले जानकारी दिए ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने बाँकेका चिकित्सकहरु बताउँछन् । उनीहरूका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

अहिले जिल्लाको तापक्रम ४०/४१ डिग्री रहेको छ । डा. रिसालले सर्वसाधारणलाई सफा उमालेको पानी प्रशस्त पिउन, नियमित झोलिलो पदार्थ सेवन गर्न, धूम्रपान र मद्यपान नगर्न, फलफूल र हरियो साग सब्जी खान, काँचो खानेकुरा नखान, दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गरेका छन् ।

 

Translate »