दशौं अन्तर्राष्ट्रिय योग दिवस : वीरेन्द्रनगरको खुला मैदानमा योग शिविरदेखि स्वास्थ्य परीक्षण निःशुल्क


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दशौं अन्तर्राष्ट्रिय योग दिवस भव्यरुपमा मनाउन व्यापाक तयारी शुरु भएको छ ।
‘महिला सशक्तिकरणका लागि योग’ भन्ने नारासहित प्रदेश राजधानी सुर्खेतमा सक्रिय योगसम्बधित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले योग दिवसलाई सप्ताह व्यापीरुपमै मनाउने तयारी गरेका छन् ।
गत शनिबार प्रदेश आयुर्वेद अस्प्ताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दशौं अन्तर्राष्ट्रिय योग दिवस सप्ताह व्यापीरुपमै मनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश आयुर्वेद अस्प्ताल तथा अनुसन्धान केन्द्रका निर्देशक डां रिजालको संयोजकत्वमा दशौं अन्तर्राष्ट्रिय योग दिवस मुल आयोजक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा पतञ्जली योग पिठ सुर्खेतका हेमप्रकाश भुसाल, मोक्षपथ फाउण्डेशनका राजेन्द्र विष्ट, नेपाल रेडक्रस सोसाईटीका कटकबहादुर शाही, महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान सुर्खेतका तिलकराम अधिकारी, वैदिक सनातन धर्म सेवा समाजका ललित भट्टराई, जीवन विज्ञानका निर्मला कोइराला, प्रणामी मन्दिर सुर्खेतका आचार्य मोहनानन्द महाराज र ओशो ध्यान केन्द्र सुर्खेतका तेजविक्रम बस्नेत रहेका छन् ।

बैठकले योग दिवसलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न संघसंस्थाहरुलाई जिम्मेवारी समेत बाँडफाँड गरेको प्रदेश आयुर्वेद अस्प्ताल तथा अनुसन्धान केन्द्रका वरिष्ठ कविराज निरीक्षक पुष्पा आचार्यले स्काई न्यूजलाई जानकारी दिईन् ।
उनका अनुसार असार १ गते शनिबारका दिन प्रदेश आयुर्वेद अस्प्ताल तथा अनुसन्धान केन्द्रले अस्पताल परिसर भित्र ‘गृहणीहरुका लागि भान्साघर’ औषधालय कार्यक्रम सञ्चालन गर्नेछ ।

असार २ गते आईतबारका दिन पतञ्जली योग समितिले बृहत योग ध्यान तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्नेछ । यस्तै असार ३ गते सोमबारका दिन पतञ्जली योग समिति, सुन्दर नेपाल संस्था र वीरेन्द्रनगर नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्नेछ ।
असार ४ गते मंगलबारका दिन जीवन विज्ञानले महिला सशक्तिकरणका लागि प्यानल छलफल गर्नेछ ।

यसैगरी असार ५ गते बुधबारका दिन मोक्षपथ फाउण्डेशनले युवाहरुका लागि युवा वृत्तिविकास तथा छलफल कार्यक्रम गर्दैछ । असार ६ गते विहीबारका दिन सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले सरोबारवालाहरुसँग योगसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम गर्नेछ ।
त्यस्तै असार ७ गते निःशुल्क योग ध्यान, स्वास्थ्य परीक्षण तथा नेपाल रेडक्रस सोसाईटीद्वारा रक्तदान कार्यक्रमलगायत अन्य विभिन्न योग प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने वरिष्ठ कविराज निरीक्षक आचार्यले जनाईन् ।
साथै सप्ताहव्यापी हरेक दिन वीरेन्द्रनगर स्थित खुलामञ्चमा विहान ५ बजेदेखि ७ बजेसम्म निःशुल्क योग शिविरको आयोजना गरिएको छ । सरकारी पक्षका सरोकारवालालाई प्रदेश आयुर्वेद अस्प्ताल तथा अनुसन्धान केन्द्रले आमन्त्रण, समन्वय तथा सहयोग गर्ने र अन्य सरोकारवालालाई सम्बन्धित संघसंस्थाहरुले गर्ने निर्णय समेत बैठकले गरेको आचार्यको भनाइ छ ।
योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै अन्य विभिन्न रोगबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


