सरकारी जागिरमा कुन विज्ञापन कहिले ?

काठमाडौं । लोक सेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई मूल मर्म मानेर बर्सेनि निश्चित समयको कार्यतालिका नै बनाएर निजामती सेवा, सुरक्षा निकाय र संगठित संघसस्थालाई आवश्यक कर्मचारी पदपूर्ति गर्दै आएको छ । आयोगले आर्थिक वर्षको पहिलो दिन साउन १ मा नै निजामतीतर्फको कर्मचारी भर्ना तथा बढुवासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको छ । वार्षिक कार्यतालिका प्रकाशनले निजामती सेवामा प्रवेश गर्न चाहने योग्यता पुगेका नागरिकलाई परीक्षाको पूर्वतयारी र समय व्यवस्थापनमा सहज हुने गरेको छ ।

आयोगले संघीय सरकारको रिक्त दरबन्दी र संगठित संघसस्थाको बर्सेनि हजारौं जनाको पदपूर्ति गर्दै आएको छ । मुलुक संघीय संरचनामा गएपछि सातै प्रदेशमा प्रदेश लोक सेवा आयोगसमेत गठन गरिसकिएको छ । आयोगले बनाएको कार्यतालिकाअनुसार बाह्रै महिना पदपूर्तिका प्रक्रिया सञ्चालन हुँदै आएको छ । आयोगको कार्यसम्पादन शैलीले सरकारी कामप्रतिको घट्दो जनविश्वास, कानुनी जटिलता, अनियमितता र ढिलासुस्तीलाई एक प्रकारको चुनौती दिँदै आएको छ । लोक सेवाको कार्यसम्पादन शैली र त्यसबाट सिर्जित जनविश्वासलाई राजनीतिक नेतृत्वले पनि अनुकरण गर्दै जाने हो भने मुलुकको तीव्र विकासलाई मार्गनिर्देश गर्ने देखिन्छ ।

सरकारका सबै ‘जागिरदारमा भर्नाका निमित्त जाँच गर्नु’ भन्ने संवैधानिक व्यवस्था २००८ साल असार १ मा पब्लिक सर्भिस कमिसनको नामबाट स्थापना भएको लोक सेवाले शनिबार ७४ औं स्थापना दिवस मनाएको छ । पहिलो पटक २००८ साल भाद्र १८ मा ६ वटा पदका लागि विज्ञापनको सूचना निकालेर काम सुरु गरेको आयोगले अहिले बर्सेनि दुई हजारको हाराहारीमा विज्ञापन तथा बढुवाको सूचना प्रकाशित गरेर जनशक्ति छनोट गर्दै आएको छ । आयोग निजामती मात्र होइन, सुरक्षा निकाय र संगठित संघसंस्थामा जनशक्ति भर्नाका लागि भरपर्दो र विश्वसनीय संवैधानिक निकायका रूपमा क्रियाशील रहेको छ । संविधानको धारा २४३ को उपधारा ९५० मा सरकारबाट निवृत्तिभरण पाउने कुनै पनि पदमा लोक सेवाको परामर्शबिना स्थायी नियुक्ति नगर्ने व्यवस्था गरिएको छ ।

आयोगले मुख्य रूपमा निजामतीतर्फको विज्ञापन प्रकाशन, दरखास्त संकलन, लिखित परीक्षा सञ्चालन, उत्तरपुस्तिकाका साङ्केतीकरण र परीक्षण, लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस र बढुवाको काम गर्दै आएको छ । त्यस्तै, यसले परीक्षाको पाठ्यक्रम निर्माण र परिमार्जन पनि गर्ने गर्छ । लोक सेवाले सार्वजनिक निकायमा नियुक्ति, बढुवा, विभागीय कारबाही प्रचलित कानुनबमोजिम भएको छरछैन निरीक्षण गर्दै आएको छ । लोक सेवाले दरबन्दी संरचना, पदपूर्ति र रिक्त दरबन्दी, अस्थायी, करार वा ज्यालादारी कर्मचारीको नियुक्ति स्थापित सिद्धान्तअनुसार भएरनभएको हेर्ने गरेको छ । अहिलेसम्म सुरक्षा निकायसहित ९९ वटा संघसंस्थाको पदपूर्ति प्रक्रियामा लोक सेवाको प्रतिनिधित्व रहेको छ ।लोक सेवाको काठमाडौंमा रहेको केन्द्रीय कार्यालयसहित धनकुटा, दिपायल, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत, इलाम, खोटाङ, हेटौंडा, बागलुङ, दाङ, जुम्ला, महेन्द्रनगर तथा दरखास्त व्यवस्थापन केन्द्रसमेत मुलुकभर १६ वटा कार्यालयमार्फत परीक्षा सञ्चालन गर्दै आएको छ । परीक्षार्थीलाई सुविधा प्रदान गर्न हुम्ला, डोल्पा, लहान, वीरगन्जमा पनि नायब सुब्बा र खरिदारको लिखित परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

आर्थिक वर्ष २०८०र०८१ को तथ्यांकअनुसार तीन सुरक्षा निकाय र संगठित संघसंस्थाको जनशक्ति भर्ना र बढुवामा आयोगको संलग्नता हुने गरेको छ । लोक सेवाले संगठित संघसस्थाहरूलाई कर्मचारी सेवा सुविधासम्बन्धी परामर्श पनि दिने गरेको छ । लोक सेवाकी सहसचिव तथा प्रवक्ता गीताकुमारी हुमगाईंले कार्यसम्पादनलाई अझ बढी भरपर्दो बनाउने प्रयास भइरहेको छ । उनले संगठित संघसंस्थाको परीक्षा तालिकालाई निजामती जस्तै अनिवार्य गराउने प्रयास भइरहेको जानकारी दिइन् ।

निजामतीमा बर्सेनि आउने जनशक्ति

आयोगको वार्षिक प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्ष अर्थात् आर्थिक वर्ष ०७५र७६ देखि ०७९र८० सम्मको तथ्यांक केलाउने हो भने निजामतीको विभिन्न पदमा एकदेखि दुई हजार जना नयाँ अनुहार प्रवेश गरेको देखिन्छ । यसले निजामती सेवामा खुला, समावेशी, आन्तरिक प्रतिस्पर्धा तथा आन्तरिक बढुवाको परीक्षा सञ्चालन गर्दै आएको छ । लोक सेवाको ६४ औं वार्षिक प्रतिवेदनअनुसार खुला र समावेशीमार्फत आर्थिक वर्ष २०७५र२०७६ मा ७ सय २९ जना निजामतीमा प्रवेश गरेका छन् ।

०७६र७७ मा खुलामा १ हजार ४ सय ३६ र समावेशीमा १ हजार १ सय ६८ जना गरी २ हजार ९ सय ४ जनाले पहिलो पटक विभिन्न पदमा सेवा सुरु गरेका छन् । ०७७र७८ मा आयोगले निजामतीतर्फ खुला तथा समावेशीमा क्रमशः १२ सय ३५ र ९ सय ९८ नयाँ अनुहार सिफारिस गरेको छ । यस आवमा २२ सय ३३ जनाले प्रवेश पाएका छन् । आव ०७८र७९ मा खुला १ हजार २ सय र समावेशी १ हजार १७ जना नवप्रवेशी छन् । उक्त आवमा नयाँ अनुहार २ हजार २ सय २३ जना निजामतीमा प्रवेश गरेका छन् । आव ०७९र८० मा खुला १ हजार ८० र समावेशी १ हजार ६ समेत २ हजार ८६ जनाले पहिलो पटक सेवा प्रवेश गरेका छन् ।

कुन विज्ञापन कहिले  ?

लोक सेवा आयोगले विभिन्न सेवाका निजामती कर्मचारीको पदपूर्तिका लागि अपनाइने सिट संख्या तथा प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा सफल एवं वैकल्पिक उम्मेवारको नाम सिफारिसको समय बर्सेनि एउटै तालिका बनाउने गरेको छ । आयोगले तोकेको समयमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र संगठित संघसंस्थाले पदपूर्तिको सूची बुझाउनुपर्छ । तालिकाअनुसार कर्मचारीको पदपूर्ति गर्न आवश्यक नदेखिएको सूचना सम्बन्धित निकायले दिएमा उक्त पदको प्रक्रिया अघि बढाइँदैन ।

आयोगका अनुसार निजामती सेवा, स्वास्थ्य सेवा, संसद सेवा तथा राष्ट्रिय मानवअधिकार सेवाको पदपूर्तिका लागि वार्षिक कार्यतालिका प्रकाशित हुन्छ । तालिकाको समय वर्षौंदेखि एउटै छ । राजपत्रांकित विशिष्ट श्रेणीको बढुवा आवश्यकताअनुसार हुने भएकाले तालिका बनाउने गरिएको छैन । विशिष्ट श्रेणीको पद रिक्त भएपछि मात्र बढुवाको माध्यमबाट पूर्ति गरिने भएकाले तालिका नबनाइएको हो ।

राजपत्रांकित प्रथम श्रेणीः खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवा भदौ र असोज महिनामा हुन्छ । यसको विज्ञापन र सूचना प्रकाशन असोजको अन्तिम बुधबार गरिन्छ । परीक्षा सञ्चालन मंसिरमा हुन्छ भने लिखित परीक्षाको नतिजा सार्वजनिक पुसरमाघमा हुन्छ । अन्तर्वार्ता र उम्मेदवारको नाम सिफारिस फागुनरचैतमा गरिन्छ ।

राजपत्रांकित द्वितीय श्रेणीको (प्राविधिकर अप्राविधिक) तथा अधिकृत द्वितीयः यो पदको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धारण भदौ र असोजमा गरिन्छ । असोजमा अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ भने परीक्षा सञ्चालन पुस र माघ महिनामा हुन्छ । लिखित परीक्षा सञ्चालन फागुन र चैतमा र अन्तर्वार्ता तथा नजिता प्रकाशन चैत र वैशाखमा गरिन्छ ।

स्वास्थ्य सेवाको एघारौं र नवौं तहः यो पदको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धारण भदौ र असोजमा गरिन्छ । असोजमा अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ र पुस र माघ महिनामा परीक्षा गरिन्छ । लिखित परीक्षा फागुन र चैतमा हुन्छ भने अन्तर्वार्ता र नतिजा प्रकाशन चैत र वैशाखमा हुन्छ ।

राजपत्रांकित तृतीय श्रेणी प्राविधिकः यस पदको खुला, आन्तरिक र बढुवाको सिट संख्याको प्रतिशत असोज र कात्तिक महिनामा निर्धारण हुन्छ । विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । परीक्षा सञ्चालन माघ र फागुनमा हुन्छ भने लिखित परीक्षाको नतिजा चैत र वैशाख महिनामा प्रकाशित हुन्छ । अन्तर्वार्ताको नतिजा प्रकाशन तथा नाम सिफारिस जेठ र असारमा गरिन्छ ।

स्वास्थ्य सेवा आठौं तहः उक्त पदमा खुला प्रतिस्पर्धा हुन्छ । आवश्यक सिट संख्याको प्रतिशत निर्धारण असोज र कात्तिक महिनामा गरी विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । लिखित परीक्षा सञ्चालन माघ र फागुनमा गरी नजिता प्रकाशन चैत र वैशाखमा गरिन्छ । अन्तर्वार्ता र सिफारिस जेठ र असार महिनामा सार्वजनिक हुन्छ ।

स्वास्थ्य सेवा सातौं तहः खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको सिट संख्या र प्रतिशत निर्धारण असोज र कात्तिकमा गरिन्छ । विज्ञापन तथा सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिन्छ । लिखित परीक्षा सञ्चालन माघ र फागुनमा गरिन्छ । नजिता प्रकाशन चैत र वैशाखमा हुन्छ भने अन्तर्वार्ता र सिफारिस जेठ र असारमा गरिन्छ ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक तथा अधिकृत तृतीय): प्रथम र द्वितीय चरणको खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या तथा प्रतिशत निर्धारण कात्तिक र मंसिर महिनामा गरिन्छ । यसको विज्ञापन र सूचना प्रकाशन मंसिरको अन्तिम बुधबार हुन्छ । खुलातर्फको प्रथम चरणको परीक्षा माघमा हुन्छ भने त्यसको लिखित परीक्षाको नतिजा फागुनमा प्रकाशित हुन्छ । खुला द्वितीय चरण र आन्तरिक प्रतिस्पधाको लिखित परीक्षा चैतमा हुन्छ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित हुन्छ भने साउन र भदौमा अन्तर्वार्ता तथा सिफारिस गरिन्छ ।

राजपत्र अनंकित प्रथम श्रेणी ९अप्राविधिक० तथा सहायक प्रथमः खुला प्रथम चरण, खुल द्वितीय चरण र बढुवाको सिट संख्या र प्रतिशत मंसिर र पुस महिनामा निर्धारण हुन्छ । विज्ञापन तथा सूचना प्रकाशन मंसिर र पुसभित्र गरिन्छ । विज्ञापन तथा सूचना प्रकाशन पुसको अन्तिम बुधबार हुन्छ । प्रथम चरणको लिखित परीक्षाको परीक्षा फागुनमा सञ्चालन गरेर नतिजा चैतमा प्रकाशित हुन्छ । खुला द्वितीय चरणको परीक्षा वैशाखमा हुन्छ र लिखित परीक्षाको नतिजा प्रकाशन साउन र भदौमा हुन्छ । अन्तर्वार्ता र सिफारिस भदौ र असोजमा गरिन्छ ।

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक):  यस पदको खुला र बढुवाको सिट संख्या प्रतिशत पुस र माघमा निर्धारण गरिन्छ । माघको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशन हुन्छ । खुलाको परीक्षा वैशाखमा हुनेछ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित हुन्छ । उम्मेदवारको अन्तर्वार्ता र सिफारिस साउनरभदौमा सार्वजनिक गरिन्छ ।

स्वास्थ्य सेवा, पाँचौं तहः खुला आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या र प्रतिशत पुस र माघमा निर्धारण गरिन्छ । माघको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरेर खुला तथा आन्तरिक परीक्षा वैशाखमा सञ्चालन गरिन्छ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित गरिन्छ । अन्तर्वार्ता र सिफारिस साउनरभदौमा हुन्छ ।

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) तथा सहायक द्वितीयः खुला प्रथम चरण, खुला द्वितीय र बढुवाको सिट संख्या तथा प्रतिशत निर्धारण माघ र फागुन महिनामा गरिसक्नुपर्नेछ । फागुनको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिनेछ भने आन्तरिक प्रतिस्पर्धाको परीक्षा जेठ र असरमा हुनेछ । आन्तरिकको लिखित परीक्षाको नतिजा भदौ असोजमा प्रकाशित गरिनेछ ।

अन्तर्वार्ता र सिफारिस असोजरकात्तिकमा हुनेछ । खुलातर्फको प्रथम चरणको लिखित परीक्षा वैशाखमा र यसको नतिजा प्रकाशन असारमा हुनेछ । खुलातर्फको प्रथमबाट उत्तीर्ण भएकाहरूको द्वितीय चरणको परीक्षा जेठरअसारमा हुनेछ भने यसको नतिजा भदौरअसोजमा सार्वजनिक गरिनेछ । अन्तर्वार्ता तथा सिफारिस असोजरकात्तिकमा गरिनेछ ।

राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक):  खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या र प्रतिशत निर्धारण फागुन र चैतमा गरिन्छ । चैतको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरी खुला र आन्तरिक प्रतिस्पर्धाको जेठमा लिखित परीक्षा सञ्चालन गरेर असारमा नतिजा प्रकाशन गरिन्छ । अन्तर्वार्ता र सफल एवं वैकल्पिक उम्मेदवारको नाम सिफारिस साउनमा हुन्छ ।

स्वास्थ्य सेवा चौथो तहः खुलातर्फको फागुन र चैतमा सिट संख्या र प्रतिशत निर्धारण गरेर चैतको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशित गरिन्छ । जेठमा लिखित परीक्षा हुनेछ भने असारमा नतिजा प्रकाशित गरिनेछ । साउनमा अन्तर्वार्ता तथा सफल तथा वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरिन्छ ।

सुरक्षा निकाय तथा संगठित संस्थाको पदपूर्ति

लोक सेवाले नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान तथा संगठित संघसंस्थाको पदपूर्तिका लागि आन्तरिक तथा खुला प्रतियोगित सञ्चालन गर्दै आएको छ । त्यसका लागि पनि आयोगले वार्षिक कार्यतालिका नै बनाउने गरेको छ । त्यसका लागि प्रत्येक वर्ष साउनदेखि परीक्षा सुरु गरेर असारसम्म पदपूर्ति गरिसक्ने तालिका आर्थिक वर्षको सुरु साउनमै सार्वजनिक गर्दै आएको छ ।

तर संगठित संघसंस्थाले तालिकाअनुसार पदपूर्तिका लागि अनुरोध नगरेमा आयोगले तोकिएको समयको प्रक्रिया रोक्नेछ । सुरक्षा निकाय र संगठित संघसस्थाबाट रीतपूर्वक माग भई आएमा आयोगले थप निर्णय गर्न सक्नेछ । संगठित संघसंस्थाको हकमा भने आयोगले तालिका सार्वजनिक गरे पनि परिवर्तन हुने गरेको छ ।
‘आयोगले उत्कृष्ट ठानेका कर्मचारीमाथि प्रश्न उठ्दा दुःख लाग्छ’

माधवप्रसाद रेग्मी,

अध्यक्ष–लोक सेवा आयोग

लोक सेवा आयोगलाई संवैधानिक रूपमा पनि बलियो बनाएको छ । ऐन, कानुनहरूले दिएको अधिकार र हामीले स्थापनाकालदेखि नै विकास गरेको सिस्टममा आधारित प्रणालीले आयोगप्रति जनविश्वास बढेको हो । प्रतिस्पर्धा र निष्पक्षताको पक्षमा वकालत त गरेका छौं नै व्यवहारमा पनि लागू गर्ने कोसिस गरेकाले नै आमनागरिकमा अझ बढी विश्वास जागेको पाउँछौं । यो सबै सिस्टम एकै पटक भएको होइन सरकारको बैधानिक कानुन लागू भएदेखि निरन्तरको प्रयासले हामी यो स्थानमा आएका हौं ।

पदपूर्तिका क्रममा जसरी प्रतिस्पर्धा र गुणस्तरीयतामा आधारित भएर कर्मचारीको छनोट गरेका छौं । यसलाई अझ परिस्कृत, आधुनिकीकरण र समयानुकूल बनाउन लागिरहनुपर्ने महसुस हामीले गरेका छौं । पछिल्लो समय विश्वविद्यालय आयोगलगायतले जसरी लोक सेवालाई प्रमुख भूमिका दिएर परीक्षा प्रणाली सञ्चालन र पदपूर्तिमा सहभागिता गराउन थालिएको छ, त्यसले पनि हामीप्रतिको विश्वास थप जगाएको छ । लोक सेवाले संघमा मात्र होइन, भर्खरै बामे सर्दै गरेको प्रदेश लोक सेवा आयोगलाई पनि त्यतिबेलै व्यवस्थित गर्न समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छौं । प्रदेश लोक सेवाप्रति पनि नागरिकको भरोसा र विश्वास वृद्धि गर्नु जरुरी छ । त्यो हामीले गरी नै रहेका छौं ।

यद्यपि, हामीले प्रतिस्पर्धाका आधारमा जसरी कर्मचारी छनोट गर्दै आएका छौं । कार्यसम्पादनको सिलसिलामा उनीहरूबाट भएका कमजोरी सुन्दा र देख्दा नरमाइलो लाग्छ । लोक सेवाले लिने परीक्षामा उम्मेदवारहरू जति उत्कृष्ट पाउँछौं, फिल्डमा खटिएपछि कर्मचारीको व्यवहारले लोक सेवालाई सोच्न बाध्य बनाएको छ । विशेषतः हामीले उत्कृष्ट भनिएकाहरू विभिन्न अनियमिततामा मुछिएको खबर सुन्दा दुःख लाग्छ ।

एकातिर पदपूर्तिका बेला व्यक्तिमा देखिएको क्षमता कार्यक्षेत्रमा कमै देखिन्छ भने अर्कोतर्फ व्यक्तिको आचरण पनि अलि लाजमर्दो र नागरिकले आलोचना गर्ने देखिएको छ । त्यसैले हामीले सहसचिवसम्मका कर्मचारीलाई क्षमता विकास र आचरणसम्बन्धी तालिम दिने योजना बनाएका छौं । मुख्यतया कर्मचारीले तोकिएको कार्यसम्पादन विवादरहित ढंगले पूरा गर्न कस्तो क्षमता चाहिन्छ त्यसमा आधारित भएर नयाँ ढंगको तालिम दिने अन्तिम तयारी गरेका छौं । ई–कान्तिपुर

Translate »