योग सबैका लागि जरुरी हुन्छ : चर्चित महिला योगगुरु देवकृपा

सुर्खेत । देशकै चर्चित योग महिला गुरु साध्वी देवकृपाले स्वस्थ्य जीवनका लागि नियमित योग र ध्यान गर्न आवश्यक रहेको बताएकी छन् ।

१० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘मानव स्वास्थ्यमा योगको महत्व’ विषयक माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगिता समापन कार्यक्रममा बोल्र्दै योग गुरु देवकृपाले योग र ध्यानका माध्यमबाट अव्यवस्थित मानव जीवनलाई व्यवस्थित गर्न सकिने बताएकी हुन् ।

उनले शरीरलाई स्वस्थ, सुदृढ, पवित्र राख्न सके मात्र मानसिक रुपमा सन्तुलित, सीर्जनात्मक, सक्रिय र जागरुक भएर विभिन्न कर्महरु सम्पादन गर्न सक्षम भईने जनाईन् ।

‘योगबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ र विभिन्न प्रकारका (शारीरिक, मानसिक, भौतिक र सामाजिक) सुखहरुको भोग गरी आनन्द प्राप्त गर्न सफल हुन्छ,’ उनले भनिन्, ‘योग शारीरिक मानसिक तथा आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह हो । स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ ।’


उनले मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक र सामाजिक अवस्थामा पनि स्वस्थ रहन आवश्यक रहेको बताईन् । उनका अनुसार शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक उपाय भनेको योग र ध्यान नै हो ।

‘योगका कारण शारीरिक, मानसिक अवस्था निर्मल रहन्छ र यही शारीरिक, मानसिक अवस्था राम्रो भयो भने मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ,’ उनले भनिन्, ‘नियमित योग गर्ने मानिस र योग नगर्ने मानिसमा तुलना गर्ने हो भने योग नगर्ने मानिसभन्दा योग गर्ने मानिस स्वस्थ, तनावमुक्त, तन्दुरुस्त देखिन्छन् ।’

उनले नियमित योग गरेमा शरीरका महत्वपूर्ण अंगहरु जस्तैः मुटु तथा रक्तसञ्चार प्रणाली, मृगौला तथा मूत्र प्रणाली, पाचन प्रणाली, श्वासप्रस्वासप्रणालीलाई स्वस्थ र नियमित कार्य गर्न सहज गराउँने जनाईन् । उनका अनुसार गलत आहार विहार, गलत विचार र गलत जीवनशैली नै रोग लाग्नुका तीन मात्र कारण हुन् ।

Translate »