सुर्खेतमा योगप्रति बढ्दो आकर्षण
सुर्खेत । सुर्खेतमा केही वर्ष यता योगप्रति विशेष आकर्षण बढेको छ । स्वस्थ शरीर र सकारात्मक विचारका लागि योगका माध्यमबाट सर्वसाधारण स्वास्थ्यप्रति जागरुक भएका छन् ।
योग शिविरमा बच्चादेखि बृद्धसम्मका मानिसहरुको सहभागिता देखिन्छ । त्यति मात्र होइन, उद्योगी व्यापारी, कर्मचारी ,पत्रकार, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मी जस्ता दिनहूँ व्यायाम गर्नेहरुको समेत योगप्रति आकर्षण बढेको पाइन्छ । आध्यात्मिक भावना, तनाव व्यवस्थापन र ध्यान केन्द्रित गर्न योग महत्वपूर्ण बन्दै गएको वीरेन्द्रनगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बताएका छन् ।
१० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सोमबार तेस्रो दिन सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘मानव स्वास्थ्यमा योगको महत्व’ विषयक माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताका सहभागीहरुले योग तथा ध्यानले मनलाई शान्त र सन्तुलित बनाउँने गरेको जनाएका हुन् ।
बद्लिँदो जीवनशैलीका कारण विभिन्न किसिमका तनाव व्यवस्थापन र कामको शिलशिलामा व्यवस्त जीवन बिताउनेहरुका लागि योग र ध्यान निकै लाभदायक हुने गरेको उनीहरुको भनाइ थियो । बक्तृत्वकला प्रतियोगितामा वीरेन्द्रनगरका २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
कडा प्रतिस्पर्थाका वीच त्रिपुरेश्वर माध्यमिक विद्यालयका छात्र कुशल उपाध्यायले बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हात पारेका छन् । उनलाई प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँको पुरस्कार असार ७ गते वीरेन्द्रनगरको खुला मैदानमा जारी निःशुल्क योग, ध्यान र स्वास्थ्य चेकजाँच शिविर समापनको दिन प्रदान गरिने पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।
प्रतियोगितामा सूर्योदय बोडिङ स्कूलकी छात्रा एलिजा बस्नेतले द्वितीय स्थान हात पारेकी छिन् । उनलाई प्रमाणपत्रसहित नगद तीन हजारको पुरस्कार प्रदान गरिनेछ भने तृतीय पुरस्कार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कूलकी छात्रा सुस्मा बुढाले जितेकी छिन् । उनलाई प्रमाणपत्रसहित नगद दुई हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ईगरव्रिज माविकी आस्मा कँडेल, जन नमूना माविका उपेन्द्र बुढामगर र ग्रीनल्याण्ड एकेडेमीकी प्रिया खड्काले सांत्वना पुरस्कार हात पारेका छन् । उनीहरुलाई प्रमाणपत्रले सम्मानित गरिनेछ ।
देशकै चर्चित योग महिला गुरु साध्वी देवकृपाको प्रमुख आथित्यततामा आयोजित बक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव धिरेन्द्रप्रसाद लम्साल, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजाल, पतञ्जली योग पिठका रिमा कँडेल र योग विज्ञ हरि उपाध्याय रहेका थिए ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखाको समन्वयमा पतञ्जली योग समिति सुर्खेत र सुन्दर नेपाल संस्थाद्वारा आयोजित प्रतियोगिताको सहजीकरण जागेश्वरले गरेका थिए ।
प्रतियोगिताका विजेतालाई साध्वी देवकृपा, पतञ्जली योग समिति सुर्खेतका आजीवन सदस्य हेमप्रकाश भुसाल, ईगरव्रिज माविका प्रिसिन्पल कृष्णा न्यौपाने र पतञ्जली योग समिति सुर्खेतका महिला प्रभारी गिता ओलीलगायतले अविर र खादाबाट सम्मान गरेका छन् ।